रास्वपाकाे ५ वर्षे `नागरिक करारपत्र´ सार्वजनिक
रास्वपाले आगामी निर्वाचनको लागि ५ वर्षे नागरिक करारपत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिवद्वतालाई ‘नागरिक करारपत्र’ काे नाममा सार्वजनिक गरिएको पत्रमा दलीयकरण अन्त्यदेखि २०४६ यताकै सम्पत्ति छानबिनसम्मका प्रतिबद्धता व्यक्त गरिएको छ ।
रास्वपाले आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करारपत्र’ सार्वजनिक गरेको हाे। पार्टीले आफ्नो प्राथमिकता, वर्तमान राजनीतिक–आर्थिक अवस्था र आगामी लक्ष्यहरू समेटेर उक्त करारपत्र सार्वजनिक गरेको जनाएको छ।
करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, सामाजिक न्यायसहितको उदार अर्थनीति अघि बढाउने तथा प्रदेश संरचनामा आवश्यक सुधार गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। साथै, समन्यायात्मक समावेशीता सुनिश्चित गर्ने, सनातन सभ्यताको सम्मान गर्दै धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

रास्वपाले सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्दै डायस्पोराको सामर्थ्य उपयोग गर्ने र नेपालको सौम्य शक्तिको विस्तारमार्फत सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने प्रतिबद्धता जनाएको छ।
करारपत्रमा दलीयकरणको अन्त्य गर्ने स्पष्ट घोषणा गरिएको छ। साथै, २०४६ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। पार्टीले उक्त कदममार्फत सुशासन, पारदर्शिता र जवाफदेहिताको नयाँ अभ्यास सुरु गर्ने दाबी गरेको छ।




