आज महाशिवरात्री, पशुपतिनाथका चारै ढाेका खुला, भक्तजनकाे विहानैदेखी भिड

मूलखबर संवाददाता
काठमाडौं, ३ फागुन

आज महाशिवरात्रि । यस पर्वका अवसरमा पशुपतिनाथकाे चारवटै ढाेका खाेलिएकाे छ । यस क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ।

महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ। कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन्। महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन्।

हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताउनुभयो। पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उहाँले उल्लेख गर्नुभयो। यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।

गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।