फागुन १ : जनयुद्ध दिवस, देशभर विविध कार्यक्रम, रुकुम पूर्वमा विशेष समारोह गरी मनाइँदै

मूलखबर संवाददाता
काठमाडौं, १ फागुन २०८२

आज फागुन १ गते, जनयुद्ध दिवस । यसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले देशभर विविध कार्यक्रम गर्दै यो दिवस मनाइरहेको छ । पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले प्रभातफेरी, अन्तरक्रिया, स्मृतिसभा, श्रद्धाञ्जली कार्यक्रम र जनसभामार्फत ऐतिहासिक जनयुद्धको स्मरण गरिरहेका छन् ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज रुकुम पूर्व जिल्लामा आयोजना हुने विशेष कार्यक्रममार्फत जनयुद्ध दिवस मनाउने भएका छन् । उक्त कार्यक्रममा जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिक परिवर्तनको यात्राबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टी स्रोतले जनाएको छ ।

२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धले नेपालमा सामन्ती संरचना अन्त्य गर्दै गणतन्त्र स्थापना, समावेशी लोकतन्त्र र संघीय व्यवस्थातर्फको मार्ग प्रशस्त गरेको थियाे । जनयुद्धका क्रममा हजारौँ नागरिकले बलिदान दिएका थिए भने थुप्रै परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका थिए । आजको दिन ती सहिद तथा बेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दै शान्ति, समृद्धि र सामाजिक न्यायका मूल्यलाई संस्थागत गर्ने संकल्प व्यक्त गरिएको छ ।

पार्टीले जनयुद्ध दिवसलाई केवल स्मरणको दिन मात्र नभई वर्तमान राजनीतिक उपलब्धिलाई जनताको जीवनस्तरसँग जोड्ने अवसरका रूपमा लिँदै आएको जनाएको छ । विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरूमा सहिद परिवार, वेपत्ता परिवार, घाइते लाइ सम्मान सहित जनसरोकारका विषय, विकास निर्माण, सामाजिक न्याय र सुशासनबारे छलफल गरिँदै छ ।