नेपालमा ६ महिनामा ३ सय ३३ जना विदेशी नागरिक पक्राउ, यस्ताे छ कारण

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा पर्यटक र व्यावसायिक भिसामा भित्रिएर गैरकानुनी गतिविधि गरेको आरोपमा पछिल्लो ६ महिनामा ३ सय ३३ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरुलाई नियन्त्रणमा लिएकामा जरिवाना असुल गरी तोकिएको अवधिसम्म पुनः नेपाल आउन नपाउने गरी निस्कासन गरेको हो ।

साउन २०८२ देखि पुस मसान्तसम्म ६ महिनामा पक्राउ परेका विदेशी नागरिकहरूमा ‘म्यारिज ब्युरो’ खोलेर रकम असुल गरी नेपालबाट महिलालाई चीन पठाउनेदेखि क्रिस्चिन धर्म प्रचारप्रसारमा संलग्नसम्मका व्यक्ति रहेको विभागले जनाएको छ । सन् २०२५ को एक वर्षमा निस्कासन गरिएका विदेशी नागरिकको संख्या ५ सय १ थियो ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले पक्राउ परेकाहरुमा अध्यागमन कानुन उल्लंघन गर्नेदेखि अन्य फौजदारी कसुरमा संलग्नसम्मका रहेको बताए । ‘तोकिएको भिसा अवधि गुजारेर गैरकानुनी रुपमा बसोबास गर्दै आएकादेखि अरु फौजदारी कसुरसमेतमा संलग्न ३ सय ३३ जनालाई विभागले नियन्त्रणमा लिएकामा केहीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा बुझाइएको छ,’ निर्देशक ढकालले भने । बाँकी सबैलाई निश्चित अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरुकै देशमा निस्कासन गरिएको खबर छ।