चुनाव हामी गठबन्धनविना नै जित्दैछौँ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २२ माघ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा कसैसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।

आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नहुने स्पष्ट पारेका हुन्।

‘चुनावमा उहाँले कुनै पनि पार्टीसँग अब नेकपाले तालमेल नगर्ने स्पष्ट पार्नुभयो,’ बैठकमा सहभागी नेकपाका एक नेताले भने, ‘हामी कुनै पनि पार्टीसँग तालमेल नगरी पहिलो पार्टी बन्दैछौँ भन्ने कुरा उहाँले गर्नुभयो।’

प्रचण्डले कुनै पनि पार्टीका नाम नलिइ जनताबाट अस्वीकृत र तिरस्कृतहरूसँग गठनबन्ध नगर्ने नीति आफ्नो पार्टीले लिएको बताए। ‘अहिलेसम्मको चुनाव प्रचारको ‘ट्रेन्ड’ हेर्दा हामी अरु दलभन्दा अगाडि छौँ,’ सम्बोधनको क्रममा प्रचण्डले भनेका छन्, ‘हाम्रा उम्मेदवारले जनताबाट रेस्पोन्स पाइरहेका छन्। चुनाव हामी जित्दैछौँ।’