क्यान्सर केवल एउटा रोग मात्र होइन, यो पीडा हो, डर हो : प्रचण्ड
विश्व क्यान्सर दिवसको अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर केवल एउटा रोग मात्र नभएर पीडा र डर पनि भएकाे बताएका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले परिवारभित्र क्यान्सरका बिरामी हुँदाको संघर्ष मैले प्रत्यक्ष रूपमा अनुभूति गरेको बताउँदै नेपालमा क्यान्सर गम्भीर चुनौती बनेको उल्लेख गरेका छन् ।
उने आर्थिक अभावकै कारण कसैले उपचारबाट वञ्चित हुन नपराेस भनेर प्रधानमन्त्रीको रूपमा जिम्मेवारी बहन गर्दा उपचार सेवा विस्तार, क्यान्सर उपचार संस्थाहरूको विकास तथा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क प्रारम्भिक परीक्षण र उपचारलाई विशेष कार्यक्रमका रूपमा अघि बढाइएको उल्लेख गरेका छन् ।
उनकाे सन्देश यसप्रकार छ
आदरणीय देश तथा विदेशमा रहनुभएका बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,
आज विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सरसँग जुधिरहेका प्रत्येक व्यक्ति, उनीहरूको पीडामा साथ दिइरहेका परिवारजन तथा अहोरात्र सेवामा खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति म गहिरो सम्मान र हार्दिक श्रद्धा व्यक्त गर्दछु।
क्यान्सर केवल एउटा रोग मात्र होइन। यो पीडा हो, डर हो, मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो। यो निरन्तर संघर्ष हो। त्यसैले क्यान्सरसँग लडिरहेका हरेक बिरामीको कथा फरक हुन्छ, उनीहरूको आँसु फरक हुन्छ, आशा फरक हुन्छ। कसैले बाबा या आमालाई बचाउन लडिरहेको हुन्छ, कसैले छोरी र छोराका लागि बाँच्न चाहिरहेको हुन्छ, त कसैले जीवनसँग अन्तिमपटक अडिन संघर्ष गरिरहेको हुन्छ।
परिवारभित्र क्यान्सरका बिरामी हुँदाको संघर्ष मैले प्रत्यक्ष रूपमा अनुभूति गरेको छु।
त्यसैले यो पीडा मेरो लागि केवल तथ्य नभई एउटा नमिठो अनुभूति बनेको छ ।नेपालमा क्यान्सर गम्भीर चुनौती बनेको छ। आर्थिक अभावकै कारण कसैले उपचारबाट वञ्चित हुनुपर्छ भन्ने कुरा मेरो लागि कहिल्यै स्वीकार्य थिएन। यही सोचका साथ प्रधानमन्त्रीको रूपमा जिम्मेवारी बहन गर्दा उपचार सेवा विस्तार, क्यान्सर उपचार संस्थाहरूको विकास तथा स्तन र पाठेघरको क्यान्सरको निःशुल्क प्रारम्भिक परीक्षण र उपचारलाई विशेष कार्यक्रमका रूपमा अघि बढाइएको हुँ। विशेषगरी सातै प्रदेशमा किशोरी लक्षित एचपीभी खोप लगाउन नीतिगत पहल लिइएको, त्यसको निरन्तरताले १४ लाख ६० हजार किशोरीहरूले खोप प्राप्त गर्न सफल भएका छन्।
यी प्रयास हरेक जीवन जोगाउने संकल्पका परिणाम हुन्। मेरो अनुभूतिमा क्यान्सरको उपचारले मात्र पर्याप्त हुँदैन। समयमै जाँच, सचेत जीवनशैली, खोप र एक–अर्काप्रतिको मानवीय संवेदना उत्तिकै आवश्यक हुन्छ। क्यान्सर लागेको व्यक्तिलाई एक्लो छैन, भन्ने अनुभूति दिनु नै हाम्रो सबैभन्दा ठूलो सहयोग हो।




