डिजेल र मट्टीतेलकाे मुल्य वृद्धि, पेट्रोलकाे यथावत
नेपाल आयल निगमले डिजेल/मट्टितेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ३९ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र नेपालगन्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर सात घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ ।




