राष्ट्रिय सभाकाे निर्वाचनमा कांग्रेस, एमाले र मधेसवादी गठबन्धनको एकलाैटी

मूलखबर संवाददाता
काठमाडौं, १२ माघ

राष्ट्रिय सभाको निर्वाचनमा  १ निर्विरोधसहित १८ वटै सिट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनले जितेकाे छ । नेपाली कम्युनिस्ट पार्टीले एक्लै निर्वाचन लड्ने निर्णय गरेपछि  गठबन्धनबीच बाँडफाँट भएअनुसारै कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका हुन् ।

यो नतिजासँगै राष्ट्रिय सभामा कांग्रेस दोस्रोबाट पहिलो ठूलो दल बनेकाे छ ।  नेकपा दोस्रोमा झरेको छ । एमाले तेस्रोमै यथावत् छ ।

कोशीमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध भएका छन् भने आइतबार भएको निर्वाचनमा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । मधेशमा कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, एमालेकी रेखा झा तथा जसपा नेपालका महन्थ ठाकुर निर्वाचित भएका छन् । बागमतीबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल राष्ट्रिय सभा सदस्य चुनिएका छन् ।

गण्डकीबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा राष्ट्रिय सभामा आएका छन् । लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री र कांग्रेसका वासुदेव घिमिरे तथा चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेका मीनासिंह रखालले जितेका छन् । सुदूरपश्चिमबाट एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभाका सांसद बनेका छन् ।