अन्तत: जनार्दनले लिए एमालेकाे साथ, यस्ताे भयाे प्रलाेपा र एमालेबीच सहमति
अन्तत पुर्व माओवादी कमाण्डर तथा पुर्व मन्त्री जनार्दन शर्माले एमालेकाे साथ लिन पुगेका छन् । प्रचण्डले माओवाद र माओवादी छाडेकाे आराेप लगाउँदै बाबुरामसिहत गैर कम्युनिष्टहरूसँग एकता गरी नयाँ पार्टी बनाएका जनार्दन शर्माले रूकुममा निर्वाचन जित्नकाे लागि नेकपा एमालेसँग एकता गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बिच केही क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ ।
आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘वादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवबिच तालमेल गर्ने सहमति भएको हो ।
सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्नेछ ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले)का उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा मतदान गर्नेछ ।





