आज राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि चुनाव

मूलखबर संवाददाता
काठमाडौं, ११ माघ

राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ ।

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान केन्द्र तोकेको छ । मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र तोकेको हो । त्यसै गरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालयपरिसर पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र तोकिएको हो ।

आयोगले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतबाट प्रदेश सभा र गाउँपालिका वा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको हकमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार नेकपा (एमाले) का आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका एक/एक गरी १८ जना सदस्यको पद रिक्त हुँदै छ । मनोनीत सदस्य वामदेव गौतमले यसअघि नै राजीनामा गर्नुभएको छ । राष्ट्रपतिले रिक्त एक सदस्य पदमा मनोनीत गर्नुहुने छ ।

आयोगका अनुसार सात वटै प्रदेशमा गरी कुल २०३८ मतदाता छन् तर कतिपय स्थानीय तहका पदाधिकारीले राजीनामा गरेर आमनिर्वाचनमा भाग लिन लाग्दा रिक्त हुन गएको पदाधिकारीको नामसमेत मतदाता नामावलीमा समेटिएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा यस पटक सबैभन्दा बढी मधेश प्रदेशबाट चार जना निर्वाचित हुने छन् । कोशी प्रदेशले महिला, दलित र अन्य समूहबाट एक/एक गरी तीन जना निर्वाचित गर्ने छ । मधेशले महिला, दलित, अपाङ्गता वा अल्पसङ्ख्यक व्यक्ति र अन्यबाट एक/एक गरी चार जना निर्वाचित गर्ने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमले महिला र अन्य समूहबाट एक/एक गरी दुई/दुई जना निर्वाचित गर्ने छन् । लुम्बिनीबाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहबाट एक/एक गरी तीन जना सदस्य निर्वाचित हुने छन् । अर्को एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् ।

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा १८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । एमालेबाट आठ, नेपाली कम्युनिस्ट पार्टीबाट १७, नेपाली कांग्रेसबाट नौ, जनता समाजवादी पार्टीबाट तीन र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक, नेपाल मजदुर किसान पार्टीबाट दुई र राष्ट्रिय जनमोर्चाबाट चार पदका लागि मनोनयन दर्ता भएको हो ।

प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणा गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित हुने छन् ।