प्रधानमन्त्रीका दावेदारहरूसँग सार्वजनिक बहस गर्न तयार छु : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका दावेदारहरूसँग सार्वजनिक बहस गर्न आफू पूर्णरूपमा तयार रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय गर्न नसकिने पनि बताएका छन्।
भावी प्रधानमन्त्रीका दाबेदारहरूले सार्वजनिक बहस गर्नुपर्ने माग उठिरहेका बेला शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्रीका आकांक्षीहरूबिच खुला बहस हुनु आवश्यक रहेको बताए ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकारमाथि व्यक्तिगत अपमान गरेको आरोप लगाए। ओलीले बताए अनुसार, ‘झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर जस्तो जाँच गरेर हैरान पारियो। विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो हुँदैन। तर हिजो एयरपोर्टमा त्यसरी हेपियो। किनभने माथिबाट आदेश आएको रहेछ।’
अध्यक्ष ओलीले भने, ‘यो सरकार हामीलाई दु:ख दिने कामतिर लागिरहेको छ। यो सरकार अराजनीतिक र असभ्य छ। नेताहरूको अपमान गर्ने नै सरकारको मति हो। त्यो व्यवहार ममाथि देखियो, सभ्य संसारमा हामी मामी छैनौं जस्तो लागेको छ।’




