देशभर दुई हजार ९२५ उम्मेदवारले गरे उम्मेदवारी दर्ता

मूलखबर संवाददाता
काठमाडौं, ६ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता भएपछि मंगलबार बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ पुरुषले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराए । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उनले बताए ।

कम दर्ता भएको मुस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिए । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको जनाइएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नं क्षेत्रको बाँकी छ ।

सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ ।