मन्त्रीहरू चुनावमा उमेदवार बन्न गएपछि सिंहदरबार सुनसानजस्ताे, महावीर पनि गए

मूलखबर संवाददाता
काठमाडौं, ६ माघ

जेनजी आन्दोलनपछि बनेकाे शुशिला कार्की नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरू पदबाट राजिनामा दिएर फागुन २१ मा हुने चुनावमा उमेदवार बनेका छन् ।

पछिल्लोपटक शिक्षा मन्त्री रहेका महाविर पुन समेतले आज मन्त्रीबाट राजिनामा दिएर म्याग्दीमा चुनाव लड्न उमेदवार मनाेनयन गर्न गएका छन् ।

उनलेे स्वतन्त्र रूपमा उमेदवारी दिने बताएका छन् ।

त्यसैगरी सञ्चारमन्त्री जगदिश खरेलले पनि राजिनामा गरेर ललितपुर २ मा निर्वाचन लड्न गएका छन् भने खेलकुद मन्त्री ब्बलु गुप्ता पनि मन्त्री पद छाडेर रास्वपाबाट निर्वाचन लड्न हिँडेका छन् ।

त्यसैगरी उर्जा, शहरी विकास र भाैतिक पुर्वाधार मन्त्री समेत रहेका कुलमा घिसिङले पनि मन्त्री पद छाडेर उज्यालो नेपाल पार्टी नै बनाएर चुनावमा हेलिएका छन् ।

प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

उनीहरूले सम्हाली आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सरकारका प्रमुख मन्त्रीहरू नै पद छाड्दै चुनाव लड्न हिँडेपछि सिंहदरबार सुनसानप्राय भएको  छ ।