ओखलढुंगामा नेकपाकाे प्रतिनिधिसभा उमेदवार बने रामकुमार कार्की, काे हुन् कार्की ?

मूलखबर संवाददाता
काठमाडौं, ५ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनको लागि ओखलढुंगामा नेपाली कम्युनिस्ट पार्टीले रामकुमार कार्कीलाई उमेदवार बनाएकाे छ ।

उनलाई जिल्ला पार्टीको सिफारिसमा पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव कुमार नेपालले उमेदवारकाे टिकट दिने निर्णय गरेका थिए भने पार्टी उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले टिकट हस्तान्तरण गरेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका कार्की तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला संयाेजक समेत रहेका थिए । मजदुर संगठनबाट राजनीतिक यात्रा शुरू गरेका युवा नेता कार्कीलाई इमान्दार समाजसेवी राजनीतिक नेताका रूपमा ओखलढुंगाबासीले चिन्दछन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कार्की मेहनति र मिजासिला स्वभावका नेता पनि हुन् ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेकाे जनयुद्धको दाैरानमा राज्यपक्षबाट गिरफ्तार गरी चरम यातना र जेलजीवन समेत विताएका कार्कीले जनयुद्धकै समयमा नेवार समुदायकी रिना महर्जनसँग अन्तरजातीय विवाह गरी समाज रूपान्तरणमा उदाहरणीय काम गरेका छन् ।