झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको हाे । नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपिएको छ ।
२०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ ।
पुस २७ गतेदेखि भृकुटीमण्डपमा शुरू भएको विशेष महाधिवेशनमा पार्टीको सभापति लगायत पदाधिकारीमा उमेदवारी दर्ता शुरू गरेपछि संस्थापन पक्षले दुई महामन्त्रीमाथि कार्वाही अगाडि बढाएका थिए ।
विशेष महाधिवेशनले दुईवटा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको थियाे । विशेष महाधिवेशनमा गएकाहरू पार्टीको केन्द्रीय समिति बैठकमा अनुपस्थित रहेका थिए भने केन्द्रीय सकितिले महामन्त्रीहरू सहितलाई पाँच वर्षका लागि पार्टी सदस्य बाट समेत निस्कासन गरेको थियाे ।




