विशेष महाधिवेशन पक्षले पार्टी फुटाउने प्रयास गरेको देउवाकाे आराेप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। आज बिहान आफूलाई भेट्न आएका नेता–कार्यकर्तासँगको भेटमा देउवाले यस्तो बताएका हुन्।
‘पार्टी फोड्ने प्रयास गरिएको छ, तर कांग्रेस फुट्दैन। म यसमा पूर्ण रूपमा विश्वस्त छु,’ भेटका क्रममा देउवाले नेताहरूसँग भनेको उनको सचिवालय स्रोतले जनाएको छ।
देउवाले विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने स्पष्ट पारेका छन्। उनले विशेष महाधिवेशन वैधानिक नभएको दाबी पनि दोहोर्याएका छन्।
आज बिहान संस्थापन पक्षकै केही नेताहरू देउवालाई भेट्न पुगेका थिए। भेटमा पार्टीको वर्तमान अवस्था, विशेष महाधिवेशन र त्यसले निम्त्याउन सक्ने राजनीतिक परिणामबारे छलफल भएको बताइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भइसकेको छ। आजदेखि महाधिवेशनका बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन्। विशेष महाधिवेशन पक्षले बहुमत प्रतिनिधिको सहभागिता रहेको दाबी गरेको छ।




