दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएकोे शुभकामना सन्देशमा उहाँले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।”
राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि उहाँका दिव्योपदेश मार्गदर्शन लिन सकिने बताउनुभएको छ ।
उहाँले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको स्पष्ट पार्नुभएको छ ।




