रेमिटान्स बढ्दाे, पाँच महिनामा ८ खर्ब ७० अर्ब भित्रियाे
नेपाली अर्थतन्त्रको मुख्य मेरूदण्डकाे रूपमा रहेकाे रेमिटान्स बढ्दै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढेको बताएको छ । यस्तै कुल विदेशी विनिमय (मुद्रा) सञ्चितिसमेत १९.६ प्रतिशतले वृद्धि भएको छ ।
शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्ब ३० अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ४.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने पाँच महिनामा रेमिट्यान्स २९ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको मंसिरमा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कात्तिकमा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । मासिक रेमिट्यान्स आप्रवाह तुलना गर्ने हो भने गत असोजमा २ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन हालसम्मकै उच्च हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३ सय ८४ र १ लाख ३५ हजार ४ सय २५ थियो ।




