निर्वाचन आचारसंहिता लागु गर्ने तयारीमा निर्वाचन आयाेग
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य तथा ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ ।
आयाेगले तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि प्रधानमन्त्री कार्कीसँग छलफल गरेको छ ।
आयोग प्रवक्ता नारायण भट्टराईका अनुसार भण्डारीले निर्वाचन सामग्रीको छपाइ र खरिद, निर्वाचन जनशक्तिको व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन आचारसंहिता र निर्वाचन पर्यवेक्षणलगायतका विषयमा जानकारी गराएका छन् ।
आयोगसँग ब्रिफिङ लिएपछि प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी थिइन् । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता, २०८२ छिट्टै लागू गर्ने तयारीमा आयोग रहेको र सोको कडाइका साथ पालना गराउन आयोग दृढ रहेको जानकारी प्रधानमन्त्रीलाई गराइएको थियो ।
आयोगले माघ पहिलो साताबाट आचारसंहिता लागू गर्ने तयारी गरेको छ । आचारसंहिता लागू गर्नुअघि २ माघमा दलहरूलाई छलफलमा बोलाइएको छ । ६ माघको उम्मेदवारी मनोनयनअघि आचारसंहिता लागू गर्ने तयारीमा आयोग छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको थियो ।
छलफलमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोगले गरेका तयारी, सम्पन्न भइसकेका काम तथा आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।




