भेनेजुयलामा अमेरिकी हस्तक्षेपबारे नेपालकाे धारणा, बाबुरामले गरे कडा आलोचना
भेनेजुयलामा भएकाे अमेरिकी हस्तक्षेपबारे नेपालले धारणा सार्वजनिक गरेकाे छ ।
बुधबार राति प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भेनेजुएलामा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो ।
साथै नेपालले सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेको छ । ‘ सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनावलाई बढ्न नदिन नेपाल आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्र संघको बडापत्रमा समावेश गरिएका राष्ट्रहरूको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ । संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।
नेपालकाे असंलग्न परराष्ट्र नीति अनुसार द्वन्द्व रत मुलुक कसैको पनि पक्ष लिन नसक्ने हुँदाहुँदै पनि अमेरिकाले एक सार्वभौम राज्यकाे राष्ट्रपतिलाई अपहरणकाे शैलीमा पक्राउ गरी लगेर आफ्नो देशमा बन्धक बनाएको विषयमा पनि स्पष्ट धारणा दिन नसक्नु नेपाल सरकारकाे लाचारी पन भएको भन्दै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा आलोचना गरेका छन् ।
उनले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल सरकारले लिएको ‘नजिकबाट नियालिरहेको’ भन्ने अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको प्रमुखलाई सैन्य बल प्रयोग गरेर अपहरण गर्दा पनि केवल ‘नजिकबाट नियाल्ने’ भन्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् ।
डा. भट्टराईले यस्तो निष्क्रियतालाई ‘कसैलाई सबैको अगाडि कसैले बलात्कार गर्दा टुलुटुलु हेरेर मात्र बस्न मिल्छ र ?’ भन्ने प्रश्न गर्दै नेपालको परराष्ट्र नीतिको वर्तमान अवस्थाप्रति आक्रोश व्यक्त गरे ।
उनले यो नेपालले सधैँ अनुशरण गर्दै आएको पञ्चशील सिद्धान्त र असंलग्न परराष्ट्र नीति, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्ति तथा मूल्यमान्पता र सामान्य नैतिकताको समेत विरुद्धमा रहेको औंल्याएका छन् ।




