लुम्बिनीमा विदेशी पर्यटककाे संख्यामा उल्लेख्य वृद्धि, २६ प्रतिशत बढ्याे

मूलखबर संवाददाता
काठमाडौं, २४ पुस

लुम्बिनीमा विदेशी पर्यटक र तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष २०२४ को तुलनामा गत वर्ष २०२५ मा  २६ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा एक वर्षमा १ सय ६ देशका पर्यटक र तीर्थालुले भ्रमण गरेका छन् । २०२५ मा भारतीयबाहेक विश्व शान्तिको मुहान लुम्बिनी आधाभन्दा बढी विश्वका पर्यटकले भ्रमण गरेका हुन् ।

विश्वकै ठूलो मुलुक चीनलगायत ४० हजार १ सय ९७ जनसंख्या भएको र १ सय ६० वर्गकिलोमिटर क्षेत्रफल रहेको सानो युरोपेली मुलुक लिकटेन्स्टाइनसम्मका पर्यटक लुम्बिनी गएको वर्ष आएका थिए । नजिकको चीनदेखि सबैभन्दा टाढा रहेको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक र तीर्थयात्रीले लुम्बिनी भ्रमण गरे ।

चीनबाट १० हजार ७ सय ८९ पर्यटक आएका थिए भने नेपालबाट १७ हजार ७ सय ७९ किमि पर रहेको चिलीबाट ३२ पर्यटक आएका थिए । लडाकू समूह हमासको निशाना परेको इजरायलबाट १ सय ७७ र रुसी आक्रमणले तहसनहस भएको युक्रेनका ९५ पर्यटकले पनि शान्ति खोज्दै लुम्बिनी भ्रमण गरेका छन् ।