नेकपाकाे समानुपातिक सुचीमा उत्पीडित वर्ग, सकिनाकाे नामले बढाएकाे नेकपाकाे साख

मुलखबर
काठमाडौं, १९ पुस

आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभाकाे निर्वाचनको लागि दलहरूले समानुपातिक उमेदवारकाे बन्दसूची निर्वाचन आयाेगमा बुझाएपछि नेपाली राजनीतिक रंगमञ्चमा नयाँ तरङ्ग आएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा पुराना र नयाँ दलहरूले समावेश गरेका व्यक्तिहरूकाे नाममा विभिन्न प्रतिक्रियाहरू आइरहेकाे छ । विशेषगरी नयाँ दलकाे रूपमा स्थापित भएको रास्वपाले पेश गरेको बन्दसूचीमा धनाढ्य र नेताका आफन्तकाे नाम हालेकाे भनेर चाैतर्फी आलोचना भइरहँदा पुर्व माओवादी र हाल नेपाली कम्युनिस्ट पार्टीकाे सूचीमा भने अत्यन्तै निम्न र पिछडिएका तथा याेगदान र त्याग गरेका व्यक्तिहरू समेटिएको भनेर प्रशंसा आइरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बन्दसूचीमा राखेका उमेदवारमध्ये मुस्लिम, अल्पसंख्यक, महिला, मधेसी, दलित र आदिवासी जनजाति क्लष्टरमा राखिएका नामहरू उपयुुक्त र संविधानले व्यवस्था गरेबमोजिमकाे समावेशी र समानुपातिक मापदण्डअनुसार नै भएको भनेर टिप्पणी भइरहेको छ ।

मुस्लिम तर्फकाे पहिलाे नम्बरमा राखिएकी कैसर जहाँ भन्ने सकिना मुस्लिम जनयुद्धमै हुर्किएर जनमुक्ति सेनामा समेत सहभागी भई दर्जन बढि युद्व र भिडन्तमा प्रत्यक्ष सहभागी युवा महिला हुन् भने महिलातर्फकी सपना नहर्की बहुचर्चीत गाेर्खा जेल ब्रेकर सशक्त महिला नेतृ हुन् । त्यसैगरी पुर्व विद्यार्थी नेतृ पञ्चा सिंह, निरन्तर माओवादी र परिवर्तनको पक्षमा बाेल्ने मंगलसिंह प्रजा, जनयुद्धका घाइते प्रेम वयक, बाजुराकी जनयाेद्वा विनिता विक पनि समानुपातिकका क्लष्टरअनुसारका अग्र सुचीमा पारिएका छन् ।

काे हुन् मुस्लिम तर्फ पहिलो नम्बरकी सकिना ?

त्यसमध्ये रविना खानकाे नामले चिनिने सकिना मुस्लिम समुदायबाट जनयुद्धमा सहभागी हुने दाेस्राे महिलाकाे रूपमा रहेकी युवा हुन् ।  २०४९ साल बैसाखमा हालकाे मायादेवी ३ कपिलवस्तुमा जन्मिएकी उनी २०५८ साल मंसिरदेखि २०६३ सम्म नै जनयुद्धमा सहभागी भइन् भने शान्ति प्रक्रिया शुरू भएपछि चाैथाे डिभिजन र त्यसपछि काठमाडौं तथा देशका विभिन्न ठाउँमा पार्टी र साँस्कृतिक क्षेत्रको काममा सक्रिय भएकी थिइन्  ।  हालसम्म कुनै लाभकाे अवसर नपाएकी खानलाई यसपटक पार्टीले प्रतिनिधिसभाकाे सांसदकाे रूपमा पहिलो नम्बरमा सिफारिस गर्दा आफुलाई मात्रै नभई मुस्लिम समुदाय र समस्त जनयाेद्वाकाे मुहारमा खुसि छाएकाे उनलेे बताइन् ।

जनयुद्धका कष्टसाध्य दिनमा मुस्लिम जस्ताे धार्मिक रूपमा कट्टर समुदायबाट विद्राेह गरेर जनयुद्धमा हाेमिनु धेरै नै असम्भव कुरा थियाे तर उनलाई तत्कालीन माओवादीले गरेकाे न्याय र समानताकाे अभियान र कामबाट प्रभावित भई जनयुद्धमा लाग्ने प्रेरणा पैदा भएको र त्यसकाे लागि तत्कालीन स्थानिय नेता किरणकाे भुमिका रहेकाे भन्दै माओवादी हुन पाएकामा गर्व गर्छिन् रविना खान ।

जनयुद्धकालमा रविना नामबाट चिनिने उनी कपिलवस्तुमा जन्मिएर मदरसा पढ्दापढ्दै जनयुद्धमा सहभागी भएकी थिइन् । राम्रो नेपाली बाेल्न समेत माओवादी साथिहरूसँग हिँडेपछि सिकेकाे बताउने उनलेे म्याग्दीको बेनीदेखि सुनवल, स्याङ्जा, पाेखरा, गण्डक क्षेत्रका गाेर्खा, कास्की, तनहुँ, लमजुङ, धादिङ हुँदै काठमाडौं सम्मका युद्व, आन्दोलन र कार्यक्रममा अनवरत सहभागी र नेतृत्व गरेकी छिन् ।

समानुपातिक लिष्टमा नाम भएको समाचार मिडियाहरूमा आउन थालेपछि उनलाई कपिलवस्तुका मुस्लिम, थारू, दलित बस्ती र देशैभरबाट पुर्व पिएलएका सहयाेद्वाहरूले फाेन गरेर बधाई दिँदै खुसि साँटिरहेका छन् । उनी भन्छिन्- अहिले त यस्तो छ, पछि म सांसद भएको देख्न पाए भने ती समुदाय र साथिहरू कति खुसि हाेलान् ।

पहिले माओवादी र अहिले नेकपा नै आफ्नो घर भएको बताउने रविना खानकाे वास्तविक नाम अर्थात नागरिकताकाे नाम कैसर जहाँ भन्ने सकिना मुस्लिम हाे । प्रचण्डलाई आदर्श नेता र आफ्नो बुबा समान सम्मान गर्ने रविना सांसद बनेपछि पार्टी र नेतृत्वले दिएकाे जिम्मेवारी दृढतासाथ पुरा गर्ने बताउँछिन् । उनी भन्छिन्- म त पार्टीको सिपाही हाे, आफ्नो वर्ग, समुदाय र सबै उत्पीडितहरूकाे पक्षमा पार्टीको नीति र नेतृत्वको निर्देशन अनुसार काम गर्छु ।

उनी वर्गकाे हिसाबले, समुदायको हिसावले जनयुद्धमा सहभागी जनयाेद्वा भएको हिसाबले, लिंगकाे हिसावले, अवसर नपाएको हिसावले र त्याग र समर्पणकाे हिसाबले याेग्य पात्र भएकाले उनलाई सिफारिस गर्नु र सूचिमा राख्नु उपयुक्त भएको धारणा तत्कालीन माओवादी निकट नेताहरूले राखेका छन् ।

पछिल्लो जनगणना अनुसार अहिले नेपालमा १४ लाख असी हजार मुस्लिमकाे जनसंख्या छ । त्यसको आधारमा ११० मध्ये ५ जना मुस्लिम समुदायबाट प्रतिनिधिसभामा सांसद हुने व्यवस्था भएअनुसार नेपाली कम्युनिस्ट पार्टीले खातुनलाई पहिलाे नम्बरमा राख्दै ५ जना मुस्लिम समुदायको नाम सिफारिस गरेको छ ।

उनी वर्गकाे हिसाबले, समुदायको हिसावले जनयुद्धमा सहभागी जनयाेद्वा भएको हिसाबले, लिंगकाे हिसावले, अवसर नपाएको हिसावले र त्याग र समर्पणकाे हिसाबले याेग्य पात्र भएकाले उनलाई सिफारिस गर्नु र सूचिमा राख्नु उपयुक्त भएको धारणा तत्कालीन माओवादी निकट नेताहरूले राखेका छन् । उनीहरूले यस कार्यले नेपाली कम्युनिस्ट पार्टी र संयाेजक प्रचण्डप्रति आम जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् । उनीहरूकाे एउटै धारणा छ- `पार्टीले उनीजस्ता युवालाई न्याय गराेस् ।´