कांग्रेसमा महाधिवेशन विवादले फुटतर्फ, इतरपक्ष विशेष महाधिवेशन तयारीमा, आज केन्द्रीय समिति बैठक

मूलखबर संवाददाता
काठमाडौं, १८ पुस

नेपाली कांग्रेस महाधिवेशनकाे विवादले अन्ततः फुटतर्फ जानसक्ने देखिएको छ । संस्थापन पक्षले पुर्व निर्धारित नियमित महाधिवेशन गर्न आनाकानी गरेको भन्दै इतर पक्षले विशेष महाधिवेशन गर्न कम्मर कसेपछि कांग्रेस फुटकाे संघारमा पुग्न लागेकाे विश्लेषण गरिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन भएकाले निष्कर्ष निकाल्ने विशेष महाधिवेशनतर्फ अघि बढेपछि विवाद बढेको हो। महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित हलसमेत बुक गरेका छन्।

बिहीबार संयुक्त बिज्ञप्ति जारी गर्दे उनीहरूले भनेका छन्– ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ।

पार्टी विधानबमोजिमको विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको प्रस्ट्याउँदै महामन्त्रीद्वयले भनेका छन्, ‘उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’

संस्थापन पक्षले आज केन्द्रीय कार्यसमितिको बैठक आयाेजना गरेको छ ।