नयाँ वर्षमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता बनाेस् : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षले अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता पुरा गराेस् भन्ने शुभकामना दिनुभएको छ ।
अंग्रेजी नयाँ वर्ष शुभारम्भकाे अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वासका साथ यो वर्ष हामी सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने सदिच्छा व्यक्त गर्नुभएको छ ।
उहाँले जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ। यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको बताउँदै त्यसकाे लागि आफ्नो प्रतिवद्वता पनि जनाउनुभएकाे छ ।
शुभकामनाकाे पुरा पाठ-
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वासका साथ यो वर्ष हामी सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना गर्दछु।यस अवसरमा, विभिन्न कालखण्डका संघर्षका क्रममा हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदान र योगदानबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्ने संकल्प गर्न म सबैमा अपील गर्दछु।
हामीबाट विदा भएको वर्ष सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ। यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ। साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ। यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ। वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।
देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ। यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिलले हामी जिम्मेवार ढंगले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ।
विगतका अनुभवहरूबाट हामीले महत्वपूर्ण पाठहरू सिकेका छौँ। अब ती कमजोरीहरू नदोहोरिने गरी लोकतन्त्र, सुशासन र जनउत्तरदायी राज्य व्यवस्था सुदृढ बनाउनु हाम्रो साझा लक्ष्य हुनुपर्छ। विचार, एजेन्डा र निरन्तर सक्रिय नेतृत्वका आधारमा नेपाली कम्युनिस्ट पार्टीले मात्रै अग्रगामी परिवर्तनमा प्रभावकारी नेतृत्वदायी भूमिका खेल्न सक्छ भन्ने मेरो दृढ विश्वास छ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर हामी समृद्धिसहित समाजवादको यात्रा तय गर्न सक्छौँ। नयाँ वर्षले हामी सबैलाई विगतका कमजोरीबाट पाठ सिकेर अझ मजबुत रूपमा अघि बढ्ने अवसर प्रदान गरोस्।
अन्त्यमा, अंग्रेजी नयाँ वर्ष २०२६ ले सबैको जीवनमा खुसी, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामनासहित सबैलाई फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु। आउनुस्, सबै राजनीतिक शक्ति, युवा, नागरिक समाज र आम नेपाली जनताले हातेमालो गर्दै यो वर्षलाई आशा र परिवर्तनको वर्ष बनाऔँ।
शुभकामना !!
१७ पुष,२०८२
ने.सं.११४६, पोहेलाथ्व त्रयोदशी
…………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी




