तापक्रम घट्दो क्रममा, देशभर चिसो बढ्दै, काठमाडाैंमा सबैभन्दा चिसाे
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम कम छ । तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार (पुस १५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस १४) ५.२, आइतबार (पुस १३) ५.४ डिग्री थियो । यही पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री थियो ।
मंगलबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.५ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार –५.५ र आइतबार –४.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।




