बंगलादेशमा फेरि भयाे आन्दोलन, चुनावकाे वातावरण विग्रने चिन्ता
बंगलादेशमा फेरि तनाब भएको छ । गत वर्ष बंगलादेशमा भएको आम युवा प्रदर्शनपछि त्यहाँको सरकार अपदस्त भएको थियाे ।
बंगलादेशमा आगामी फेब्रुअरी १२ मा निर्वाचन घाेषणा गरिएको छ । आम चुनावकाे पुर्व सन्ध्यामा भएको तनावपुर्ण अवस्था र हिंसात्मक झडपले चुनावकाे वातावरण विगार्न सक्ने देखिएको छ ।
बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको हाे। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ।
छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको थियो। बंगलादेशमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। उनीमाथि गत साता शुक्रबार ढाकामा नकाबधारीले टाउकोमा गोली हानेका थिए।
बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्।
तस्बिर : रिउटर




