पत्रकार दीपेन्द्र शर्माकाे दाेस्राे कृति युद्व पत्रकारिता सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं,

पत्रकार दीपेन्द्र शर्माको पुस्तक ‘युद्ध पत्रकारिता’ शुक्रबार  सार्वजनिक गरिएको छ । पुस्तक राजधानीको अनामनगरस्थित संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालकाे प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हाे ।

पुस्तक लाेकार्पण गर्दै दाहालले पुस्तकले जनयुद्धको कष्टसाध्य दपन र उपलब्धिलाई उतारेकाे बताए । उनले  बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको र पत्रकार शर्माले कठिन दिनमा पनि सानैदेखी युद्व पत्रकारको रूपमा काम गरेको बताए ।

पुस्तकमाथि समीक्षा गर्दै दाहालले पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताए । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने,“बन्दुक र कलमको समायोजन, लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।” जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारि रहेको बताइन् ।

यसैगरी महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरू सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । उनले पुस्तक लेखनदेखी सार्वजनिकरण सम्म सहयाेग गर्ने सबैलाई धन्यवाद दिए । लेखक शर्मा प्रेस सेन्टर नेपालका निवर्तमान उपमहासचिव तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य हुन् ।