सुत्केरी महिलाको मृत्यु भएपछि, किस्ट अस्पतालमा तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

मूलखबर संवाददाता
ललितपुर, १० कात्तिक ।

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तीन दिनअघि सुत्केरी महिलाको मृत्यु भएको घटनापछि तोडफोड भएको छ। २५ वर्षीया मिनाश्री राईको सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा थप झडप नहोस भनेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।राईको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै ढुंगामुढा र तोडफोड गरेका छन् ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले अस्पताललाई प्रहरीले घेरेर राखेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप स्थिति सामान्य बनाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।