माेटरसाइकलले ठक्कर दिँदा बसमा आगलागी, २५ काे मृत्यु
भारतको कुर्नुल जिल्लामा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । हैदराबादबाट बेङ्गलुरु जाँदै गरेको बसमा मोटरसाइकल ठोक्किएपछि आगलागी भएको थियो।
शुक्रबार बिहान मोटरसाइकल यात्रु बसमा पछाडिबाट ठोक्किएपछि भएको आगलागीमा परेर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको हाे । यस घटनामा अन्य धेरै घाइते भएका छन् ।
आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा परेको बसमा ४४ यात्रु रहेका थिए । बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो ।
बसमा केही मिनेटभित्रै आगाे फैलिएकाे थियाे । बसका केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए भने धेरैको मद्दत पुग्नु अघि नै जलेर मृत्यु भयो । वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकल बसमा पछाडिबाट ठोक्किँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेको थियो ।
प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चाारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उक्त घटनापछि यात्रुहरूले चिच्याएर गुहार मागेका थिए। स्थानीयवासीहरूले केही व्यक्तिलाई जीवितै बाहिर निकालेका थिए भने केही व्यक्ति बसको आपत्कालीन द्वारबाट बाहिर निस्किएका बीबीसीले जनाएको छ ।




