नियमित महाधिवेशनकै पक्षमा उभिए शेखर, भन्छन- अरूले सक्ने, हामीले नभ्याउने ?

मूलखबर संवाददाता
काठमाडौं, ३० असाेज

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशनबाट मात्रै सबैको माग सम्बोधन गर्न सकिने बताएका छन्।

अन्य राजनीतिक दलले मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेकाले कांग्रेसले पनि मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने बताए। उनलेे भनेका छन्- अरू दलले सक्ने हामीले नभ्याउने भन्न मिल्दैन ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै नेता कोइरालाले महामन्त्रीले मंसिरको कार्यतालिका सार्वजनिक गर्नुपर्ने सुझाव पनि दिए।

‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरू माझ भन्न चाहन्छु, ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी’ बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्युले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु। सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ,’ उनले भने।