इजरायल र प्यालेस्टाइन द्वन्द्व अन्त्यकाे लागि इजिप्टमा वार्ता, हाेला त अन्त्य ?
वर्षाैं लामाे इजरायल र प्यालेस्टाइन द्वन्द्वकाे अन्त्यकाे लागि फेरि वार्ता शुरू भएको छ ।
इजिप्टको सरकारी सञ्चार संस्था अल–काहेरा न्युजका अनुसार इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा सोमबारबाट इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सुरु भएको छ । वार्तामा हमासका प्रतिनिधिहरू र इजरायली अधिकारीहरू सहभागी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि प्रस्ताव गरेको युद्धविराम योजना कार्यान्वयन गर्न इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सोमबारदेखि इजिप्टमा सुरु भएको बताइएको छ । वार्तामा युद्वबन्दी रिहाई प्रमुख एजेन्डा बनाइएको छ ।
इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण भूमिका निर्वाह गरिरहेका छन् । वार्तामा ट्रम्पको युद्धविराम योजनामा प्रस्ताव गरिए जस्तै पहिलो चरणअन्तर्गत युद्धविराम सम्झौता भएको ७२ घण्टाभित्र हमासले बाँकी रहेका ४८ जना बन्धकलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरूको रिहाइका विषयमा सोमबार र मंगलबार छलफल भएको इजिप्टका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्यालेस्टिनी कैदीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । ‘दुवै पक्षबीच बन्धक छुटाउनका लागि संयन्त्र तयार गर्ने प्रयास भइरहेको छ,’ इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल–काहेरा न्युजले लेखेको छ । हमासले भने ७२ घण्टाभित्र ४८ जनामध्ये मारिएका बन्धकहरूको शव फिर्ता ल्याउन कठिन हुने बताएको छ ।
इजरायल प्यालेस्टाइन युद्व अन्त्यकाे लागि इजिप्टमा वार्तामा बन्दी रिहाईकाे पहल हाेस् । नेपाली विद्यार्थी विपिन जाेशीलाई सकुसल रिहाई भएको देख्न पाइयाेस् । हाम्राे कामना !




