जेनजी आन्दोलनका केही दुर्बल पक्षहरू

खगेन्द्र छन्तयाल
काठमाडौं

नेपालमा केवल दुईदिन मात्र अर्थात् भदौ २३ र २४ मा चलेको जेनजी आन्दोलन मुलुकको तत्कालीन सरकार र सदनको विघटन गरेर अवतरण भएकोछ । यो आन्दोलनले आकस्मिक र अप्रत्याशित ढङ्गले भ्रष्टाचार, बेथिति, विसङ्गति र नातावाद,कृपावादका विरुद्ध जबर्जस्त धावा बोलेकोछ । यसकासाथै, यो आन्दोलनका अन्य धेरै सबल पक्षहरू छन्, जसले देश र जनतालाई आशाका किरण देखाएको छ । त्यसको चर्चा–परिचर्चा धेरैले धेरै पटक गरिसकेका पनि छन् । त्यसकारण त्यतातिर प्रवेश नगरी बरु त्यस आन्दोलनमा देखिएका केही दुर्बल पक्षहरू जसले देश, जनता, समाज र स्वयम् जेनजी आन्दोलनकर्मीहरूलाई बेफाइदा गर्दछन्;त्यसका बारेमा यहाँ सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ।

माओत्सेतुङ भन्नुहुन्थ्यो– क्रान्ति कुनै भोजभतेर होइन । अवश्य, क्रान्ति सधैँ एकनासको हुँदैन । क्रान्ति सबैले चाहे जस्तै र नापे–तौले जस्तो पनि हुँदैन । क्रान्तिमा सधैँ र सबै राम्रो मात्र पनि हुँदैन । कहिलेकाहीँ क्रान्तिमा सोचेभन्दा बढी नकारात्मक र पीडादायी परिस्थिति सिर्जना हुने गर्दछ । आँधीहुरीले नराम्रो चीज मात्र बढार्दैन,त्यसले राम्रा चीज पनि बढारेर लैजान सक्दछ । आन्दोलन पनि एउटा जबर्जस्त आँधीहुरी नै हो, त्यो सोचे जस्तो हुँदैन । तसर्थ, त्यसको सबल पक्ष मात्र हुँदैनन्, दुर्बल पनि हुन्छन् । तसर्थ, जेनजी आन्दोलनका कैयौँ सबल पक्ष हुँदाहुँदै पनि केही दुर्बल पक्ष पनि हुनु कुनै अनौठो र अस्वाभाविक कुरा होइन ।

जेनजी आन्दोलनको एउटा दुर्बल पक्ष हो– विचार,दृष्टिकोणविहीनता । कुनै पनि आन्दोलनको उठान र अवतरणको निम्ति आन्दोलनकारी कुनै पनि समूह वा सङ्गठनको लागि अत्यावश्यक चीज हो– विचार, दृष्टिकोण । आन्दोलनको उठान कसरी गर्ने ? परिचालन कसरी गर्ने ? आन्दोलनमा आउनसक्ने समस्याहरू के के हुन् ? ती समस्याहरूको समाधान कसरी गर्ने ? आन्दोलन लक्ष्यमा पु¥याइसके पश्चात् त्यसलाई सुरक्षित अवतरण कसरी गर्ने ? आन्दोलनको अवतरण पश्चात् आन्दोलनकारीका नीति, योजना र कार्यक्रम के हुन् ? ती कार्यक्रम र योजनाहरूलाई कसरी कार्यान्वयन गर्ने ? जस्ता विषयको निक्र्योल आन्दोलनकारी समूह वा सङ्गठनमा निहित विचार र दृष्टिकोणले ठोस गर्दछ । तर, जेनजी आन्दोलनमा त्यस्तो कुनै विचार, दृष्टिकोण देखिएन,जसको कारण आन्दोलन सफल भैसकेपश्चात् अब के गर्ने ? कसरी गर्ने ? कसले गर्ने भन्ने कुरामा अन्यौल भयो । त्यही अन्यौलतामा टेकेर धेरैले आ–आफ्नो रोटी सेक्ने प्रयत्न पनि गरे । यहाँसम्म कि त्यो अन्यौलता,अकर्मण्यता र दिशाहीनताको स्थितिमा प्रतिगामी र पुनर्उत्थानवादी समेतले टाउको उठाउन प्रयत्न गरे ।

यो आन्दोलनले आकस्मिक र अप्रत्याशित ढङ्गले भ्रष्टाचार, बेथिति, विसङ्गति र नातावाद,कृपावादका विरुद्ध जबर्जस्त धावा बोलेकोछ । यसकासाथै, यो आन्दोलनका अन्य धेरै सबल पक्षहरू छन्, जसले देश र जनतालाई आशाका किरण देखाएको छ ।

अर्को दुर्बल पक्ष हो, सङ्गठनविहीनता । मान्छेलाई उद्वेलित गर्ने कतिपय घटनाकाकारण सङ्गठनबिना नै पनि भावना,आक्रोश र उत्तेजनाकै भरमा ठुल्ठूला आन्दोलन हुनसक्छन् । तर, त्यसप्रकारको आन्दोलन धेरै लामो समयसम्म टिक्न सक्दैन । जसरी जेनजी आन्दोलन केवल ३६ घन्टामै सफल भयो, त्यसरी छोटो समयमा नै आन्दोलन लक्ष्यमा पुग्न नसकेको स्थितिमा आन्दोलनलाई लामो समयसम्म टिकाएर निरन्तर अगि बढाउनको निम्ति पनि आन्दोलनकारीहरूको एकीकृत,जुझारु र सशक्त सङ्गठन हुनु अत्यावश्यक हुन्छ । त्यति मात्र होइन, आन्दोलनको उपलब्धिहरूको रक्षा गर्नको निम्ति पनि आन्दोलनकारीहरूको सशक्त सङ्गठन हुनुपर्दछ । किनकि आन्दोलनबाट फ्याँकिएको पुरानो सत्तासीन वर्ग, समूह वा शक्तिले आगामी लामो समयसम्म पुनः सत्तासीन हुनका निम्ति निरन्तर प्रयास गरिरहन्छ ।

त्यसप्रकारका वर्ग, समूह वा शक्तिहरू सत्ताच्यूत भैसकेपनि उनीहरू पुनः सत्तामा फर्किनका निम्ति प्रशस्त आधार जीवित रहिरहेका हुन्छन् । आन्दोलनको निम्ति र आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको निम्ति जेनजी समूहको एउटा सु–स्पस्ट विचार–दृष्टिकोण बोकेको सङ्गठन अत्यन्तै आवश्यक हो । तर, जेनजी आन्दोलनलाई नियालेर हेर्दा आन्दोलनकारीहरूको सुस्पस्ट विचार–दृष्टिकोणसहितको एकीकृत,जुझारु र सशक्त प्रकारको सङ्गठन नै देखिँदैन । सङ्गठनबिना नै केवल क्षणिक उत्तेजना,भावना र आक्रोशकै आधारमा उक्त आन्दोलन उठेको र त्यहीअनुरूप अवतरण भएको देखिन्छ । सामाजिक सञ्जालमा परिचालित देशैभर उनीहरूको कैयौँ बेग्लाबेग्लै समूह र उपसमूहहरू रहेका र ती कैयौँ समूह र उपसमूहहरूमध्ये कसैले कसैको कमान्ड, कन्ट्रोल स्वीकार नगरेको पनि देखिन्छ । वास्तवमा जेनजी आन्दोलनको निम्ति यो दुःखद् पक्ष हो ।

नेतृत्वविहीनता पनि जेनजी आन्दोलनको एक अर्को दुर्बलता हो । कुनैपनि आन्दोलनको निम्ति नेतृत्व मुख्यकुरा हो । आन्दोलनको योजना निर्माण र कार्यान्वयनको नेतृत्व गर्न, आन्दोलन सफल या असफल जे भएपनि त्यसको अपनत्व लिन तथा आन्दोलन लक्ष्यमा पुगिसकेपछि आन्दोलनको अवतरण गर्न र आन्दोलनका मक्सदहरूलाई कार्यान्वयन गर्नका निम्ति आन्दोलनको नेतृत्व गर्ने नेताहरूको एउटा ठूलो टिम र ती नेताहरूको पनि नेतृत्व गर्ने एउटा मुख्य नेता हुनुपर्दछ । त्यसप्रकारका नेताहरू र मुख्य नेता भएन भने आन्दोलन ‘चेन अफ कमान्ड’ मा चल्न सक्दैन । जब आन्दोलन ‘चेन अफ कमान्ड’ मा चल्न सक्दैन, तब आन्दोलन अनुशासित र मर्यादित हुन सक्दैन । त्यस्तो अवस्थामा देश, जनता र आन्दोलनकारीकै निम्ति आन्दोलन प्रत्युत्पादक हुने सम्भावना बढी हुन्छ । सशक्त सङ्गठन, सही विचार, कुशल नेतृत्व र अनुशासित एवम् मर्यादित नेता,कार्यकर्ताहरूको सहभागिताबिनाको आन्दोलन झन् भयावह हुनसक्ने खतरा पनि हुन्छ । त्यसप्रकारका आन्दोलनको दुरुपयोग गरेर झन् खतरनाक तानाशाहहरू जन्मिन पनि सक्छन !

जेनजी आन्दोलनमा सबैले ‘चेन अफ कमान्ड’ स्वीकार गर्ने गराउने सर्वसम्मत नेतृत्व देखिएन । भदौ २३ गतेको प्रदर्शनको निम्ति काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नेकाम सवल गौतम र पुरुषोत्तम यादवले गरेको देखिन्छ । दुर्गा प्रसाईंले जेनजी आन्दोलनमा सहभागी भएर आन्दोलन भड्काउने सम्भावना देखेपश्चात् उनलाई भेटेर त्यसो नगर्न अनुरोध गर्न मिराज ढुङ्गाना लगायतको एउटा जेनजी टिम सक्रिय भएको देखिन्छ । २३ गतेका आन्दोलनकै क्रममा आपतकालीन उपचार र खानेपानीको व्यवस्थापनको निम्ति माइतीघर मण्डलामा सुधन गुरुङ लगायतको टिम सक्रिय भएको देखिन्छ । यद्यपि सुधन आफू जेनजी समूहभित्र चाहिँ पर्दैनन् तर उनको साथमा एउटा जेनजी टिम क्रियाशील देखियो । यी जेनजी टिमहरूमध्ये कसैले कसैको नेतृत्व स्वीकार गरेको देखिँदैन । जङ्गी अड्डामा वार्ताको निम्ति भएको कैयौँ जेनजी समूहको बेग्लाबेग्लै दौडधुपले पनि जेनजी आन्दोलनको नेतृत्वविहीन रहेको प्रस्ट पार्दछ । जङ्गी अड्डाले हतार–हतारमा सुधन गुरुङलाई जेनजीहरूको प्रमुख नेता बनाएर वार्तामा सामेल गरेतापनि समग्र जेनजी समूहहरूले योकुरा स्वीकार गरेको देखिँदैन । विभिन्न जेनजी समूहहरूका पछिल्ला गतिविधि र उनका अभिव्यक्तिहरूले यही कुरा देखाउँछ । जेनजी आन्दोलन र त्यसको उपलब्धिको निम्ति यो शुभसङ्केत होइन !

न नेता, न विचार–दृष्टिकोण, न सङ्गठन केही पनि नभएको जेनजी आन्दोलनमा त्यो सम्भव भएन । त्यसैले त्यो आन्दोलनमा घुसपेठियाहरूले जति सक्यो, त्यति अराजकता मच्चाए । फलतःअकल्पनीय प्रकारको जनधनका क्षति भयो । अन्ततः तीसबै अराजकताको अपजस पनि जेनजी आन्दोलनकै निधारमा थोपरियो ।

आन्दोलनको समय र त्यसपछि देखिएका अराजकता पनि जेनजी आन्दोलनको एक अर्को दुर्बल पक्ष हो । सुस्पस्ट विचार–दृष्टिकोणको अभाव, ‘चेन अफ कमान्ड’मा चल्ने सशक्त र जुझारु सङ्गठनको अभाव र नेतृत्वको अभावको स्वाभाविक परिणाम हो, आन्दोलनमा अराजकता । आन्दोलनमा करिब ६ दर्जन नेपाल आमाका कलिला सन्तानहरूले जीवन गुमाए । सिंहदरबार, सर्वोच्च अदालत,अख्तियार लगायत देशभरका कैयौँ महŒवपूर्ण सरकारी कार्यालय, असङ्ख्य प्रहरी कार्यालय र असङ्ख्य सरकारी गाडी मात्र होइन; कैयौँ बेकसुर जनताका निजी सम्पत्ति जलेर खरानी भए । आन्दोलनमा देखिएको अराजकताको पाराकाष्ठा हो, यो । यदि आन्दोलन सुस्पस्ट विचार–दृष्टिकोणद्वारा निर्देशित हुन्थ्यो भने, आन्दोलनकारीको आन्दोलन हाँक्ने सशक्त सङ्गठन हुन्थ्यो भनेर आन्दोलनको कमान्डरको रूपमा सर्वस्वीकार्य नेतृत्व हुन्थ्योभने यति अराजकता प्रदर्शन हुनेथिएन । देश र जनताले यति ठूलो क्षति बेहोर्नुपर्ने थिएन । किनकि सुस्पस्ट विचार–दृष्टिकोणले सकेसम्म कम क्षति गरेर आन्दोलन सफल बनाउन प्रयत्न गर्दछ ।

आन्दोलनको क्रममा सर्वोच्च कमान्डरले देश र जनताको सम्पत्ति जसले आन्दोलनको अवरोध गर्दैनन्, तिनको रक्षा गर्दै आन्दोलन अगि बढाउन कासन गर्दछ । र, सङ्गठनले आफ्ना नेता तथा कार्यकर्तालाई आन्दोलनको क्रममा कमान्डरको यो कासनलाई पालना गराउँछ । त्यस प्रकारको स्थितिमा आन्दोलनमा बढीभन्दाबढी क्षति गराएर आन्दोलनको बद्नाम गराउँदै आफ्नो फाइदा लुट्ने घुसपेठियाहरूलाई समयमै चिनेर तिनलाई नियन्त्रणमा लिई देश र जनताको अत्यधिक क्षतिहुन रोक्न पनि सक्दछ । तर न नेता, न विचार–दृष्टिकोण, न सङ्गठन केही पनि नभएको जेनजी आन्दोलनमा त्यो सम्भव भएन । त्यसैले त्यो आन्दोलनमा घुसपेठियाहरूले जति सक्यो, त्यति अराजकता मच्चाए । फलतःअकल्पनीय प्रकारको जनधनका क्षति भयो । अन्ततः तीसबै अराजकताको अपजस पनि जेनजी आन्दोलनकै निधारमा थोपरियो ।

भ्रष्टाचारी को हो ? भ्रष्टाचारीको रक्षाकवच बन्ने पार्टी कुन पार्टी हो ? तिनलाई चिनेर आन्दोलनको क्रममा आवश्यक भए जनतालेर आन्दोलन पश्चात् बनेको राज्यको निकायले उनीहरूलाई उचित कारबाही गर्नुपर्दछ । तर,सबै राजनीतिक पार्टी र तिनका सबै नेता तथा कार्यकर्तालाई निषेध गर्नु राम्रो होइन ।

समग्र राजनीतिक पार्टीहरू र नेता,कार्यकर्तालाई हेर्ने,बुझ्ने प्रश्नमा देखिएको गलत सोंच र चिन्तन पनि जेनजी आन्दोलनको एक अर्को दुर्बल पक्ष हो । जेनजी आन्दोलनकारीहरूले सबै राजनीतिक पार्टीहरू र सबै राजनीतिक नेता तथा कार्यकर्तालाई एउटै डालोमा हालेर हेर्ने, बुझ्ने र सोहीअनुसारको व्यवहारगर्ने गरेको पनि देखिन्छ । कुनैपनि राजनीतिक पार्टी र तिनका नेता तथा कार्यकर्ता भनेसी उनीहरूलाई एलर्जी हुनेगरेको देखिन्छ । राजनीतिक पार्टी,राजनीतिक विचार,राजनीतिक व्यक्ति र राजनीतिक प्रक्रिया, पद्धति सबैलाई निषेध गर्ने ढङ्गले गतिविधि भैरहेको देखिन्छ । आन्दोलनमा प्रायः सबै राजनीतिक पार्टीहरूको कार्यालयहरूमा भएको तोडफोड र आगजनी, राजनीतिक नेता तथा कार्यकर्ताहरूको व्यक्तिगत सम्पत्तिमाथि छानी–छानी गरिएको तोडफोड,आगजनी र आक्रमण तथा आन्दोलनपछि जेनजीका नेता भनिएका केही व्यक्तिहरूको अभिव्यक्तिलाई हेर्दा त्यो कुरा प्रस्ट बुझिन्छ । वास्तवमा जेनजी आन्दोलनको यो पनि एउटा बडो नमज्जाको दुर्बल पक्ष हो । किनकि जेनजी समूह कुनैपनि निश्चित विचार समूह र राजनीतिक सङ्गठनको समर्थक वा विरोधी समूह होइन र हुनपनि सक्दैन । त्यो त केवल एउटा उमेर समूह हो । त्यो उमेर समूहका मान्छे सबै आ–आफ्ना व्यक्तिगत जीवन,विचार,राजनीति,पेसा, व्यवसायमा स्वतन्त्र छन् । फलतः जेनजी उमेर समूहका अधिकांश मान्छेहरू राजनीतिक पार्टी,विचार समूह र सङ्गठनहरूमा आबद्ध छन् । भदौ२३ को जेनजी आन्दोलनमा राजनीतिक पार्टीमा आबद्ध नभएका जेनजी युवाहरू मात्र थिएनन् । त्यस आन्दोलनमा सबै राजनीतिक पार्टीमा आबद्ध जेनजी युवाहरूको पनि उल्लेख्य सहयोग,समर्थन रसहभागिता थियो । र, प्रायः राजनीतिक पार्टीहरूको जेनजी युवाहरूको त्यो आन्दोलनमा ऐक्यबद्धता थियो !

जेनजी आन्दोलनपछि रिपोर्टस क्लबमा पत्रकारहरूको एउटा प्रश्नको उत्तर दिनेक्रममा जेनजी नेता सुधन गुरुङले भनेका थिए– आगामी चुनावमा हामी राजनीतिक दलका नेताहरूलाई घरबाट निक्लिनै दिन्नौँ । लोकतन्त्रको निम्ति वास्तवमै यो खेदजनक अभिव्यक्ति हो । र, यो अभिव्यक्ति जेनजी आन्दोलनको मर्म विपरीत अभिव्यक्ति पनि हो । किनकि जेनजी आन्दोलन पञ्चायत जस्तो निर्दलीयताको निम्ति थिएन । जेनजी आन्दोलन राजनीतिक दल र तिनका नेताहरूको गतिविधिमाथि प्रतिबन्धको निम्ति पनि थिएन । हामीले बुझेको जेनजी आन्दोलन भ्रष्टाचार, बेथिति र विकृति, विसङ्गतिका विरुद्ध थियो । राजनीतिक पार्टीहरूका सबै नेता तथा कार्यकर्ताहरू भ्रष्टाचारी होइनन् । सबै राजनीतिक पार्टीहरू भ्रष्टाचारीको रक्षाकवच पनि होइनन् । त्यसैले भ्रष्टाचारी को हो ? भ्रष्टाचारीको रक्षाकवच बन्ने पार्टी कुन पार्टी हो ? तिनलाई चिनेर आन्दोलनको क्रममा आवश्यक भए जनतालेर आन्दोलन पश्चात् बनेको राज्यको निकायले उनीहरूलाई उचित कारबाही गर्नुपर्दछ । तर,सबै राजनीतिक पार्टी र तिनका सबै नेता तथा कार्यकर्तालाई निषेध गर्नु राम्रो होइन । यदि त्यसो भयो भने फेरि अर्को विद्रोहको जन्म हुन्छ र त्यसले अगिल्लो विद्रोहले स्थापित गरेको गलत नजिरहरूलाई जबर्जस्त उखेलेर फ्याँकिदिन्छ । अतः आन्दोलन लक्ष्यमा पुगिसकेपछि आफ्ना मूल्य–मान्यतालाई स्थापित गर्न र मुलुकमा अब अगाडि हुनसक्ने त्यसप्रकारका विद्रोहका सम्भावनालाई रोक्नको निम्ति सबै पक्षलाई समेटेर लैजाने प्रयत्न गर्नु परिवर्तनकारी शक्तिको कर्तव्य हो ।