एमसीसीबारे चर्चा गर्दै अमेरिकाले दियाे संविधान दिवसको शुभकामना
अमेरिकाले नेपाललाई संविधान दिवसको शुभकामना दिँदै एमसिसिमार्फत नेपालकाे विकासमा सहयाेग गर्ने बताएको छ । उसले आगामी निर्वाचनमार्फत लोकतान्त्रिक समाधान हासिल गर्नु अपरिहार्य रहेको बताएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले पारदर्शी सरकारप्रति नेपाली जनताको आकांक्षालाई समर्थन गर्ने पनि उल्लेख गरेको छ । ‘हालैका प्रदर्शनमा ज्यान गुमाउनेहरूको आत्माको चीरशान्तिको कामना गर्दै हामी शोक व्यक्त गर्छौं र घाइते तथा मृतकका परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल बनाउने र सबैका लागि समृद्धि प्रवर्द्धन गर्ने आशापूर्ण भविष्य पाउन योग्य छन् ।’
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले नेपालको आर्थिक विकासमा सघाउ पुर्याउने दाबी पनि गरेको छ । ‘एमसीसी सम्झौताले नेपालको यातायात र ऊर्जा पूर्वाधार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल बनाउने र अमेरिकी कम्पनीहरूको लागि व्यापारिक अवसरहरू सिर्जना गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
अन्तिममा दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा विश्वलाई अझ सुरक्षित बनाउन दुई देशबीच निकट सहकार्यको निरन्तरताप्रति आफूहरू उत्साहित रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।




