बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकीकरण तीन-सदस्यीय कार्यदल गठन
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकीकरणका लागि तीन-सदस्यीय कार्यदल गठन गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्राथमिकीकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्। उनले बजेटमा समावेश भए पनि “पूर्वतयारी नभएका” र “टुक्रे आयोजना” कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।
उनले आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने बताए।
“अब निर्वाचन गर्नुपर्ने छ, युवाका माग पूरा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नुपरेको हो,” उनले भने। राष्ट्रिय समाचार समितिका अनुसार अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताए।
उनी अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगका अध्यक्ष थिए। उक्त समितिले सरकारलाई एउटा विस्तृत प्रतिवेदन बुझाएको थियो।




