प्रधानमन्त्री चीनमा: राष्ट्रपति सी सँगकाे भेटवार्तामा के भयाे कुरा ?
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा छन् । शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चिन पुगेकै दिन थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए।
भेटवार्तापछि दुवै देशको प्रतिनिधिमण्डलस्तरीय बैठक भएको थियो।
भेटवार्तामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली लगायत सहभागी थिए।
द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखेका बताइएको छ।
पहिलो, लिपुलेक मार्ग भएर भारत र चीनले गरेको व्यापार सहमतिबारे- बैठकमा सहभागी भएका परराष्ट्र सचिव राईका अनुसार नेपालको भूमीलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको प्रधानमन्त्री ओलीले बताएका थिए।
‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्र सचिव राईले भने, ‘नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ।’
दोस्रो विषय नेपाल र चीनको नाकाबारे- बैठकमै सहभागी रहेका पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले अहिले अवरूद्ध भएका चीन-नेपाल नाका छिटो खोल्नका लागि चीनले सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए।
तेस्रो कुरा, बिआरआईबारे- उनले बिआरआईलाई छिटो अघि बढाउनुपर्ने कुरा राखेको खतिवडाले बताए। प्रधानमन्त्री ओलीले राखेका विषयहरूको सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सीले पाँच वटा कुरा भनेका थिए।
तर भेटवार्तापछि संयुक्तरूपमा नाेट जारी गरिएको छैन ।




