विषाक्त रक्सी सेवनबाट कुवेतमा ७ नेपालीसहित २३ कामदारकाे मृत्यु, १६० बिरामी
कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ७ नेपाली सहित २३ आप्रवासी कामदारको मृत्यु भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथेनोल मिसाइएको मदिरा सेवन गरेपछि शनिबार देखि बिहिबार सम्मको अवधिमा कुवेतमा एसियाली मुलुकका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० बीरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको छ।
१६० मध्ये धेरैजसो बिरामीहरूलाई कुवेतका विभिन्न अस्पतालहरूमा सघन हेरचाह इकाईहरूमा भर्ना गरिएको, गम्भीर घाइतेहरुलाई भेन्टिलेटर र तत्काल मृगौलामकाे डायलाइसिस आवश्यक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विष नियन्त्रण केन्द्र, सुरक्षा अधिकारीहरू र सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा उच्चतम स्तरको चिकित्सा हेरचाह सुनिश्चित गर्न र निरीक्षणलाई बलियो बनाउन चौबीसै घण्टा सबै केसहरूको नजिकबाट निगरानीमा राखिएको जनाएको छ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए। “बिहिबार दिनभर हामी बिरामीको उपचार गरिएका अस्पतालमा पुग्यौ,’ श्रम सहचारी आचार्यले अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी पाएकाे बताए । थप जानकारी संकलन गरिरहेको उनलेे बताए ।




