उत्तराखण्डमा बाढीमा वेपत्ता नेपाली नागरिक को को हुन् ?

मूलखबर संवाददाता
काठमाडौं, २३ साउन ।

भारतको उत्तराखण्डमा मंगलबार भएको आकस्मिक वाढीले गर्दा भएको घटनामा वेपत्ता हुने नेपाली नागरिकको नाम सार्वजनीक गरिएको छ । क्लाउड बर्स्ट (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालमा पहिरो जाँदा जाजरकोट र जुम्लाका १५ जना मजदुर सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा जाजरकोटको कुशे गाउँपालिका–२ ढाडगाउँका ४२ वर्षीय कर्णबहादुर सिंह, मानबहादुर सिंह, रामबहादुर सिंह, रबिन सिंह र निमबहादुर सिंह छन्।

त्यसैगरी, जुम्लाको जुनिचाँदे गाउँपालिका–२ मजकोटका गगनबहादुर शाही, रामबहादुर शाही, गोरखबहादुर शाही, हरिबहादुर खड्का, रेशम खड्का, पार्वती खड्का, केशव खड्का र निर्मला खड्का पनि सम्पर्कमा आएका छैनन्।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरीका डीआईजी माधव प्रसाद श्रेष्ठले बताए।