अब त चरम भएन र ?
हामीले संघर्ष, बलिदान र लामो प्रतीक्षापछि संसारभरि रुचाइएको, मूल्य र अधिकारको प्रतीक लोकतन्त्र पाएका छौं। तर आज त्यस लोकतन्त्रको सही सञ्चालन गर्ने जिम्मेवार राजनीतिक दलहरू नै गुटबन्दी, फुट, र निरन्तरको विभाजनले ग्रसित छन्। उनीहरूबीचको स्वार्थको खेलले मुलुक दिशाहीन बन्दै गएको अनुभूति भई रहेको छ ।
आज सबै दलहरूमा एउटै रोग छ—गुटको राजनीति। कुनै पनि दलमा स्थायित्व छैन। एउटा नेताले एउटालाई अर्कोले काखी च्यापेर अर्को गुट खोल्छ। दलभन्दा गुट बलियो छ, नीति भन्दा व्यक्ति प्रधान छ।
आज एक गुट सत्तामा पुग्यो भने, भोलि अर्को गुट अप्ठ्यारो पार्न उद्धत हुन्छ। संसदको एजेन्डा जनताको हुँदैन, गुटको स्वार्थ बोकेर जान्छ। एउटै पार्टीभित्र चार–पाँच लाइन चल्ने, एउटै दल मिल्दा अर्को फुट्ने अवस्था हाम्रो लोकतन्त्रको लज्जास्पद यथार्थ बनेको छ।
हिजोका पुराना नेताहरूको आलोचना गर्दै आएका नयाँ अनुहारहरूले आशा बाँडे—”हामी फरक छौं”, “हामी सफा छौं”। तर, सत्ताको स्वाद चाख्नासाथ उनीहरूकै भाषा, उनीहरूकै चाल र उनीहरूकै शैलीमा पतन हुँदै छन्। पुरानामा भन्दा नयाँमा परिवारवाद र निरंकुशता छ। अब त “पुराना भन्दा झन् खराब पो रहेछन्” भन्ने आवाज गुञ्जिन थालेको छ।
संसद नीति निर्माणको थलो हो, तर अहिले संसद त गाली गलौजको रंगमञ्च बनेको छ। प्रतिस्पर्धा विकासमा होइन, शब्दका तरवार तीर चलाउनमा भइरहेको छ। जस्तै, मिडियामा आउने हेडलाइन “नेता फलानाले नेता ढिस्कालाई यस्तो अपशब्द प्रयोग गरे”।
त्यसैगरी, चौथो अंगका रूपमा विश्वास गरिएका सञ्चार माध्यमहरू पनि आज स्वतन्त्र र वस्तुनिष्ठ भएर जनतालाई सही सूचना दिने हैसियतमा देखिँदैनन्। अधिकांश मिडिया कुनै न कुनै राजनीतिक छायाँमा रहेर समाचार बनाउने, प्रवृत्ति बढ्दो छ। सूचना भनेको अब विचार होइन, हल्ला बनेको छ।
युट्युब र सामाजिक सञ्जालहरूले अभिव्यक्तिको स्वतन्त्रताको प्रयोगको नाममा कसलाई कति गाली गर्न सक्छ भन्ने प्रतिस्पर्धा चलिरहेको छ। आरोप, प्रत्यारोप, अर्धसत्य र सनसनीको खेती हुँदैछ । जसले सामाजिक सौहार्द र विवेकशील बहसलाई धक्का दिइरहेको छ।
देखिएका सबै पराकाष्ट अब पुगेन ? कुनै अवस्थाको चरम चरण हुन्छ अब त चरम भएन र ? राजनीतिक दल, दलका नेता , संसद ,मीडिया सबैको चेत कहिले आउँछ?




