बङ्गलादेशमा लडाकु विमान विद्यालयमा खस्यो, १०० भन्दा बढी घाइते, कम्तीमा १६ को मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् ।

चिनियाँ निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड  क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।

दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।

एक जना विद्यार्थी शफिउर रहमान शफीले भन्नुभयो,“हामी खेलमैदानमा थियौं । अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।”

सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको परिवारजना अहिले गहिरो शोकमा छन् । अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् ।

अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेख्नुभएको छ,“वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ । यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो ।”

बंगलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो ।