कतारमा रहेकाे अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेपछि ट्रम्पले भने- `युद्वविराम´

मूलखबर संवाददाता
काठमाडौं, १० असार

इरानमाथि अप्रत्याशित आक्रमण गरी इजरायलले शुरू गरेको पछिल्लो द्वन्द्व अन्त्य हुन सक्ने संकेत देखिएकाे छ ।

१२ दिनदेखि जारी युद्ध अन्त्य गर्न इजराइल र इरान सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘इसराइल र इरानबिच पूर्ण युद्धविराम गर्ने सहमति भएको छ।’

तर युद्धविराम घोषणा हुन केही समय लाग्ने पनि उनले जनाएका छन्। जारी रहेका सैन्य गतिविधिहरू फिर्ता गरिसकेपछि दुई मुलुकले युद्धविराम गर्ने उनले दाबी छन्।

यसअघि अमेरिकाले इरानका तीन स्थानमा रहेका आणविक कारखानामा बम वर्षक विमानद्वारा शनिबार राती आक्रमण गरेको थियाे ।

त्यसपछि  इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर मिसाइल प्रहार गरेको केही घन्टामा ट्रम्पले यो युद्धविरामबारे सामाजिक सञ्जालमा लेखेका हुन्।

अमेरिकालाई सूचना दिएरै इरानले आफ्नो सैन्य अखडामा ती मिसाइल आक्रमण गरेको पनि ट्रम्पले दाबी गरेका छन्। इरानले हानेका १४ मध्ये १३ मिसाइल झारिएको र कुनै पनि अमेरिकी सैनिकलाई कुनै चोटपटक नलागेको राष्ट्रपति ट्रम्पले दाबी गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

न्युयोर्क टाइम्सका अनुसार उपराष्ट्रपति जेडि भान्सले ‘युद्ध सकिने देखिएको र साँचो शान्ति प्रक्रियाको सुरुवात गर्ने अवसर आएको’ बताएका छन्।

इरानी भनाइ के छ ? 

इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभइसकेको भनेका छन् – तर यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए।

उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए अनि त्यहाँको आकासमा लडाकू विमानहरू उडिरहेका थिए।

अराग्चीले उनको देशले अन्तिम मिनेटसम्म इजरेललाई ‘सजाय’ दिन जारी राख्ने बताए।

पछिल्लो जानकारी अनुसार इसराइलसँगको १२ दिने युद्ध सकिएको इरानी विदेशमन्त्री अब्बास अराघचीले परोक्ष रूपमा बताएका छन्।

उनले केही समयअघि सामाजिक सञ्जालमा लेख्दै इसराइललाई अन्तिम समयसम्म जवाफ दिएकोमा इरानी सेनालाई बधाइ दिएका छन्।

‘हाम्रो शक्तिशाली सेनाले इसराइली आक्रमणलाई जवाफ दिने काम अन्तिम मिनेट, बिहान ४ बजेसम्म जारी राख्यो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

यसअघि उनले युद्धविराम हुनसक्ने संकेत गर्दै भनेका थिए, ‘इसराइलले तेहरानको समयअनुसार बिहान ४ बजेसम्ममा आक्रमण बन्द गर्‍यो भने हाम्रो पनि जवाफी कारबाही गर्ने कुनै इरादा छैन।’

तेहरानको समय इसराइलको भन्दा आधा घन्टाअघि छ। इसराइलमा बिहान ४ बज्नेबित्तिकै अराघचीले सामाजिक सञ्जालमा लेखेका हुन्।

तीन जना कूटनीतिज्ञलाई उद्धृत गर्दै टाइम्सले कतारले युद्धविरामका लागि भूमिका खेलेको जनाएको छ।