राप्रपाद्धारा सिंहदबारभित्रै प्रदर्शन, राप्रपाका नेताहरु पक्राउ

मूलखबर संवाददाता
काठमाडौं

राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ परेका हुन् । उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका हुन् । सो पम्प्लेट प्रहरीले खोसेको छ । राप्रपाका नेताहरु सिंहदरबारबाट प्रदर्शन गर्दै बाहिरिएका थिए ।

राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् । राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।