अमेरिका जहाज दुर्घटनामा ५० जनाको शव फेला, कोही पनि जीवित नभएको ट्रम्पको भनाई
संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ।
बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्।
आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो।
अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन्। १७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।
वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो।
जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन।