
ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना सुरु
ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ओभरपास (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) का निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु गरिएको छ । निर्धारित समयभित्र काम सम्पन्न नगरेकाले सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको सडक विभागले जनाएको छ ।
ठेक्का हात पारी बर्सौंसम्म काम नगर्ने प्रवृत्तिको न्यूनीकरणका लागि निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीसँग जरिबाना तिराउन सुरु गरिएको सडक विभागको भनाइ छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र मातहत सो ओभरपास निर्माण भइरहेको छ ।
केन्द्रका निर्देशक प्रभात झाले निर्माणाधीन ओभरपासको ठेकेदार कम्पनीले थप गरिएको म्यादभित्रसमेत काम सम्पन्न गर्न नसक्दा सम्झौता अनुसार जरिबाना तिराउन सुरु गरिएको जानकारी दिनुभयो । आयोजनाको म्याद थप भई नसकेको अवस्थामा सम्बद्ध निर्माण कम्पनीले जरिबाना तिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ओभरपास निर्माणका लागि यसअघि थप गरिएको म्याद पुस ८ गते सकिसकेको छ ।
ठेकेदार कम्पनीले सम्झौता अनुसार आयोजनाको कुल निर्माण लागत रकमको दैनिक ०.०५ प्रतिशतको दरले जरिबाना तिर्नुपर्ने हुन्छ । आयोजनाको सम्झौता रकम १७ करोड छ लाख ८८ हजार रुपियाँ रहेको छ ।
२०७८ फागुन १२ गतेदेखि आयोजनाको ठेक्का सुरु भएको थियो । ठेक्का सम्झौता अनुसार २०८० फागुन ११ गतेसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नहुँदा पहिलो पटक २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो तर थप गरिएको म्यादभित्र समेत काम सम्पन्न गर्न नसक्दा जरिबाना तिराउन सुरु गरिएको निर्देशक झाले स्पष्ट पार्नुभयो ।
आशिष/समानान्तर/रेलिगेर (संयुक्त) ले सो ओभरपास निर्माणको ठेक्का पाएको हो ।
