समाज विज्ञानमा क्वान्टम सिद्धान्त: एक चर्चा
पदार्थमा अवस्थित धेरै साना कण, जस्तै इलेक्ट्रोन वा फोटोन (प्रकाशका कण) को अनुभूति हाम्रो वरिपरिको संसारबाट हामीमा सिर्जना हुने विचारको गहिराइ र भौतिक अन्तर्दृष्टि एवं ग्रहण गर्ने पद्धति (व्यवहार) मा निर्भर गर्दछ । धेरै सानो वस्तुले सामान्यभन्दा फरक व्यवहार देखाउँछ । जस्तो कि नानोमिटर आकारको सुनको टुक्रा (क्रिस्टल) पहेंलो हुँदैन, बल्की रातो हुन्छ । त्यस्तै, द्रुत इलेक्ट्रोनको बीम यदि पातलो क्रिस्टल (ग्रेफाइट)बाट गुज्रियो भने, क्रिस्टलको सतहले विवर्तन ग्रेटिङको रूपमा कार्य गर्दछ, त्यसपछि इलेक्ट्रोन पर्दामा धड्किन्छ, मानौं यो एक कण हो । त्यसैगरी, जब इलेक्ट्रोनहरू कुनै क्रिस्टलद्वारा छरिएका हुन्छन्, यसले विचित्रको प्रभाव दिन्छ जसले सुझाउँछ कि इलेक्ट्रोन कण होइन, तरंग हो (तर सधैं होइन) । अतिशुक्ष्म पदार्थले यसरी समानान्तर रूपमा देखाउने यो चरित्रले गर्दा सामान्य मानिसहरूका लागि क्वान्टम मेकानिक्स (परमाणु विज्ञान) एक गहन विवादास्पद सिद्धान्त बनेको छ ।
क्वान्टम मेकानिक्समा केवल सापेक्षिक सम्भाव्यता वर्णन गरिन्छ । एक ठाउँबाट अर्कोमा पुग्ने गतिशील कण (कण, यहाँ किन र कसरी आइपुग्छ), वा क्वान्टम राज्यको एक ऊर्जास्तरबाट अर्को परमाणुमा सर्ने इलेक्ट्रोन (इलेक्ट्रोनमा यो ऊर्जा किन छ, कहाँबाट आउँछ ?) । रेडियोधर्मी पदार्थको परमाणु किन निश्चित समयमा सड्छ, तर अन्यमा किन यस्तो हुँदैन । त्यस्तै, अर्धचालक पदार्थबाट बनेको ट्रान्जिस्टर धेरै उपयोगी छ, जसमा एउटा क्वान्टम–कण (इलेक्ट्रोन) ले विभिन्न तरिकाले व्यवहार गर्न सक्दछ भन्ने सम्भाव्यताले अनुमानित समग्र व्यवहार प्रयोगयोग्य प्रभावमा अनुवाद गर्दछ । तथापि, क्वान्टम भौतिकविदहरू असहजताका साथ लोकोपदेश दिइरहेका छन् कि सिद्धान्त पूर्ण छैन, केही हराइरहेको छ ।
माक्र्सवादीहरूले क्वान्टम मेकानिक्समा किन चासो राख्ने ? किनभने, माक्र्सवादलाई माक्र्सवादीहरूले समाजलाई बुझ्ने वैज्ञानिक विधिको रूपमा विकसित गरेका छन् । माक्र्सवादी विचारधाराअनुसार जसरी डार्विनले जैविक विकासको संरचना पत्ता लगाए, त्यसरी नै माक्र्सले पनि सामाजिक विकासको शुक्ष्म वैज्ञानिक संयन्त्र पत्ता लगाए । माक्र्सको द्वन्द्वात्मक भौतिकवादले पदार्थको संरचना र यसको मौलिक गुणहरूको संगतिका लागि क्वान्टम सिद्धान्तको अनुमानित र सापेक्षिक चरित्रमा जोड दिन्छ । माक्र्सले द्वन्द्वात्मक नियमहरू प्रकृति र मानव समाजको सामान्य अन्तर्निहित गुणहरूबाहेक अरू केही होइन भने । यसको जीवन्त परिणाम, समाज र अर्थतन्त्रमा हुने अन्तरविरोध एवं निरन्तर परिवर्तनको बुझाइ हो । समाजको यही द्वन्द्वात्मक बुझाइले अन्ततः माक्र्सवादी विचारलाई यसको क्रान्तिकारी चरित्र दिएको छ । यही द्वन्द्वात्मक भौतिकवादी दर्शनको वैधता नै माक्र्सवाद हो । तर आज, क्वान्टम मेकानिक्स (पदार्थको शुक्ष्म मौलिक व्यवहार) सम्भाव्यता र सापेक्षता ‘माक्र्सवादी दर्शन’सँग संगत नभएको प्रचार गरिएको छ । किनभने, मानव जीवनका हरेक पक्षमा पुँजीवादी विचारधारा व्याप्त छ । वैज्ञानिकहरू वस्तुनिष्ट भएको दाबी गरिन्छ ताकि उनीहरू केवल वस्तुगत तथ्यसँग मात्र व्यवहार गरून् । तर यहाँ, अनगिन्ती उदाहरण, जुन यसको खिलाफमा छन् । जेहोस्, पुँजीवादमा विज्ञान र प्रविधि नै ठूलो नाफाको कुञ्जी हो, भने यसको कडी क्वान्टम वैज्ञानिकहरू के हुन् ? वस्तुनिष्ठ हुन् कि होइनन् ? शास्त्रीय भौतिकीको जगमा गर्भधारण गरेको क्वान्टम पथ तबमात्र परिपक्व (सार्वजनिक अस्तित्वमा बिस्तार) हुन्छ, जब हामीले यसलाई मानवीय हितमा अवलोकन गर्दछौं । आज सिलिकन भ्याली, गुगल, फेसबुक, इमेल इन्टरनेट आदि खरबौं डलरका करपोरेट सञ्चार–उद्योग, क्वान्टम मेकानिक्सको जगमा रहेर मानव हितका लागि बरदान सावित भएका छन् ।
क्वान्टम मेकानिक्सको विकासमा योगदान गर्ने वैज्ञानिकहरूले माक्र्सवादको दार्शनिक आधार– द्वन्द्वात्मक भौतिकवादको सबैभन्दा आधारभूत तह (पदार्थको अतिशुक्ष्म चरणमा देखिने मौलिक गुण, तरंग–कण द्वैधको विरोधाभास) को समानान्तर बहस र्सिजना गरे । यो बहस स्वाभाविक छ, किनभने हातको बुढीऔंला र अन्य औंलाहरू पनि एकअर्काको विपरीतमा छन् । यस किसिमको बहसको निरूपणको एकमात्र आधार, वैज्ञानिक पद्धतिमा आधारित मापन प्रक्रिया नै हो । क्वान्टम भौतिक विज्ञानलाई मापन प्रक्रियाहरूको नतिजाको विज्ञानको रूपमा हेरिनुपर्दछ । त्यसभन्दा बाहिरको अनुमानलाई न्यायोचित ठहर्याउन सकिँदैन । कण कहाँ थियो भन्ने प्रश्न यसको स्थिति मापन गर्नुअघि अर्थहीन छ । कणको अवलोकन कार्य, परिणामको रूपमा साकार हुन्छ । यसरी, मापनको कार्यले तरंग प्रकार्यको तत्काल पतन गराउन पनि सक्दछ । यो क्वान्टम सिद्धान्तको अपूर्णतामा चुनिएको प्रतिक्रिया हो । भौतिक वास्तविकताको अस्तित्व, ‘एकीकृत क्वान्टम व्यवहार’को विचित्रताको कडी हो । भौतिक वास्तविकता, केवल हाम्रा इन्द्रीयहरूद्वारा गरिने अवलोकन कार्यको परिणामका रूपमा मात्र ग्रहण गरिन्छ । अवलोकन सटीक हुनुपर्दछ । स्वाभाविक रूपमा इलेक्ट्रोनको भौतिक व्यवहार, मानव चेतनाले त्यसबाट केही दर्ता गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्न सक्दैन । बरु यो इलेक्ट्रोन मापन गर्ने उपकरणमा निर्भर गर्दछ जोसँग भौतिक रूपमा इलेक्ट्रोनले अन्तरक्रिया गर्दछ, ताकि इलेक्ट्रोनले मापन साधनमा प्रभाव छाड्न सकोस्, जसले गर्दा इलेक्ट्रोनको अन्तरनिहित गुणका बारेमा केही कुरा प्रकट हुन बाध्य पारियोस् (जस्तै स्थिति वा गति) जुन इलेक्ट्रोन कणमा निहीत छ । परिणाम के हुन्छ, तपाईले देख्नुहुन्छ । अन्ततः प्राकृतिक रूपमा यो चेतनाले माइक्रोफिजिकल घटनाहरूको निर्भरतामा भूमिका खेल्नेछ । यसर्थ, मापन प्रक्रियाले अनियमित रूपमा अनुमति दिइएको धेरै सम्भावनाहरूमध्येबाट उत्तम रोज्दछ वा संश्लेषण गरी उपयुक्त निकास खोज्छ जसले सिर्जित तरंग, तुरून्तै स्थानीयकृत घटनामा परिवर्तन पनि हुनसक्छ।
उत्पादन सम्बन्धका बारेमा माक्र्सले भौतिकवादलाई संक्षेपीकरण गर्दै लेखे, ‘मानिसहरू निश्चित सम्बन्धमा प्रवेश गर्छन् जुन अपरिहार्य छ । उनीहरू आफ्नाे इच्छामा स्वतन्त्र हुन्छन् । उत्पादन सम्बन्ध, उत्पादनमा भौतिक शक्तिको विकास जसले समाज बिकासको निश्चित चरणसँग मेल खान्छ जहाँ उत्पादनका साधनहरूमा निजी स्वामित्व रहन्छ । यी उत्पादन सम्बन्धहरूको कुल योगले समाजको आर्थिक संरचना बनाउँछ (वास्तविक आधार), जसमा कानुनी र राजनीतिक अधिसंरचनाहरू उठ्दछन् । यसरी, मानिसको भौतिक जीवनमा उत्पादनको मोडले जीवनको सामाजिक, राजनीतिक र आध्यात्मिक प्रक्रियाहरूको सामान्य चरित्र निर्धारण गर्दछ । मानिसको सामाजिक–आर्थिक गतिविधिले उसको सेवाको स्वरुपलाई निर्धारण गर्दछ जसलाई ‘सामाजिक चेतना’ भनिन्छ । यसर्थ, मानिसको चेतनाले उनीहरूको अस्तित्व निर्धारण गर्दैन, तर यसको विपरीत, उनीहरूको सामाजिक अस्तित्वले चेतनालाई निर्धारण गर्दछ ।’ क्वान्टम मेकानिक्सको सृष्टिसँगै पारमाणविक स्तरमा चेतनाको अवधारणा आयो । परमाणविक स्तरमा हुने विरोधाभासी घटनाहरू सामान्य मानव चेतनाद्वारा बुझ्न सकिँदैन । उन्नत चेतना बिना यसको मर्म बुझ्न र क्वान्टम मेकानिक्सको सुसंगत नियमहरू निर्माण गर्न सम्भव थिएन जसले आधारभुत स्तरमा द्वन्दात्मक भौतिकवादको व्याख्या गर्न सकोस्।
हुन त, विचारधारा भिन्न छन् किनभने मानिसको भौतिक र सामाजिक रूचि भिन्न हुन्छन् । ‘भौतिक वास्तविकता’, अर्कोतर्फ, सबैका लागि एकदम समान छ । यद्यपि, पूर्व र पश्चिमबीचको द्वन्द्व (वैचारिक सङ्घर्ष) प्राकृतिक विज्ञानमा पनि देखिन्छ । पूर्वमा, द्वन्द्वात्मक भौतिकवादलाई रियरगार्ड रक्षाको रूपमा लिइन्छ; भने पश्चिममा द्वन्द्वात्मक भौतिकवादलाई ‘पूर्व र पश्चिमबीचको द्वन्द्वको वास्तविक जराको रूपमा लिइन्छ । किनभने यो माक्र्सवादीहरूको कट्टर विश्वासको आधार हो, कुनै न कुनै समयमा संसार सहज र अनिवार्य रूपमा उनीहरूको कब्जामा पर्न बाध्य छ ।’ यी वैज्ञानिक व्याख्याहरू सबै वैचारिक बन्धनबाट मुक्त छन् भनेर दुबै पक्षले जोड दिन्छन् । पूर्वी वैज्ञानिक एवं दार्शनिकहरूको नजरमा आधुनिक भौतिकशास्त्रले द्वन्द्वात्मक भौतिकवाद, प्रमाणित गरेको देखिन्छ भने, पश्चिमा माक्र्सवादका लागि निश्चयवादको विचार हराएको कारण पुरानो देखिन्छ । माक्र्सको जीवनकालमा, ‘आजको सापेक्षतावादी र परमाणु भौतिक विज्ञानको बारेमा थाहा थिएन । त्यो समयमा हाम्रो इन्द्रीयले के देख्यो÷भन्यो; भौतिक मापनले ती चीजहरूको भावनात्मक रूप बुझ्न योग्य उत्तम गुणहरूसँग व्यवहार गर्याे, जुन अब पुरानो भयो । तैपनि, क्वान्टम भौतिकीमा द्वन्द्वात्मक भौतिकवादले जनताको राजनीतिक निर्णयलाई कुनै न कुनै तरिकाले निर्धारण गर्न सक्छ वा वर्गसङ्घर्षको साधन कसरी मान्न सकिन्छ भन्ने विषय बुझ्न सहज नभएपनि दार्शनिक हिसाबले क्वान्टम मेकानिक्सले बहसको ध्रुवीकरण– भौतिकवाद र आदर्शवादमा बिभक्त गराएको छ । स्मरणरहोस्, विज्ञानमा, नयाँ कुरा प्राप्त गर्नु जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी महत्त्वपूर्ण, तिनीहरूको बारेमा सोच्ने नयाँ तरिका पत्ता लगाउनुमा छ । वैज्ञानिकहरूले पुष्टि गरिरहेका छन् कि आधुनिक आविष्कारहरूको उत्तम प्रयोग भनेको हामीले तिनीहरूको बारेमा सोच्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्नु हो । यी कुराहरूलाई द्वन्द्ववादका हिसाबले सोच्यौं भने हामीले विज्ञान मात्र होइन अर्थशास्त्र, इतिहास र समाजलाई पनि राम्ररी बुझ्न सक्छौं । र मात्र, हाम्रो बुझाइ पूर्णताउन्मुख हुन्छ, र जीवन पनि सार्थक बन्दछ । हाम्रो सामाजिक–सांस्कृतिक आन्दोलन र राजनीतिद्वारा प्रेरित र समर्थित पश्चिममा माक्र्सवादी विचारधारातर्फ बढ्दो चासो जस्ता कारकहरूको निर्धारण नवीन छलफलद्वारा यसको रहस्य र विरोधाभासहरूको समाधान नै आजको प्रमुख आवश्यकता हो ।