नेपाल टेलिकमकाे नाममा क्रिसमस गिफ्ट भन्दै ठगी, सावधान !

मूलखबर संवाददाता
काठमाडौं, ३ पुस

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।

सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो अफर देखाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन । टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइटको सहयोग लिन उनले अनुरोध गरे ।

साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुने सम्भावना धेरै हुन्छ । यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको बैंक खाता, पासवर्डलगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन् ।