नेपाल चीनबीच नाै सम्झाैता, बीआरआई कार्यान्वयनमा भएन हस्ताक्षर

मूलखबर संवाददाता
काठमाडौं

नेपाल र चीनबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार भएको भेटवार्तापछि विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे चीन भ्रमणकाे प्रतिष्ठाकाे विषय बनाइएको बीआरआईमा भने हस्ताक्षर भएको छैन । सत्ताकाे प्रमुख घटक नेपाली कांग्रेसकाे दबाबमा प्रधानमन्त्री ओलीले सत्ता टिकाउन बीआरआईमा हस्ताक्षर नगरी फर्केका स्राेतले बताएको छ ।

तर हस्ताक्षर भएका आयोजना बीआरआईअन्तर्गत अघि बढाइनेछ,’ भ्रमणमा संलग्न प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले भने, ‘राष्ट्रपतिबाट घोषणा भएको सहयोग छुट्टै हो ।’

उक्त रकम नेपालले बजेटरी सहायताका रूपमा लिने जनाइएको छ । नेपाल र चीनबीचको पहिलो सहमति टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएको छ ।

सहमतिमा ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारी, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका एक अधिकारीले चीनसँग आयोजनागत रूपमा मात्रै सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको बताए । ‘यी आयोजनाको कार्यान्वयन बीआरआईअन्तर्गत नै हुने भनिएको छ,’ ती अधिकारीले भनेका छन् ।

यसमध्ये मासु निर्यातकाे सहमति, टाेखा छहरेकाे सुरूङमार्ग आदि यसअघि नै भइसकेका सहमति हुन् ।