सत्तारूढ दल बीआरआईमा सहमति नजिक

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर

सत्ता गठबन्धनका प्रमुख दुई दल बीआरआईकाे विषयमा सहमति नजिक पुगेका छन् ।

लामो रस्साकसीपछि सत्तारूढ कांग्रेस र एमालेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का विषयमा साझा धारणा तय गरेका बताइएको छ । चीनले प्रस्ताव गरेको ‘कार्यान्वयन योजना’ शीर्षकको साटो ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न शुक्रबार दुई दल सहमत भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई दलबीच सहमति हुनासाथ चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारको प्रस्ताव र मोडलबारे चिनियाँ अधिकारीलाई जानकारी गराएकी छन् ।

सम्झौता गरिने दस्ताबेजको शीर्षक र अन्तर्वस्तुलाई यहाँका सत्तारूढ दलले गरेको संशोधनमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको पनि बालुवाटारका एक अधिकारीले बताए । प्रधानमन्त्री ओलीले सत्ताघटक कांग्रेस र अनौपचारिक तहमा चिनियाँ पक्षसँग समानान्तर छलफल गरेर साझा धारणा बनाएकाले सम्झौतामा हस्ताक्षर हुने निश्चितजस्तै भएको कांग्रेसका एक शीर्ष नेताले बताए ।

गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीचमा भएको सहमतिअनुरूप ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा द्विपक्षीय हस्ताक्षरका लागि प्रधानमन्त्री ओलीको भ्रमणका दौरान चिनियाँ पक्षसँग प्रस्ताव गरिने बताएकाे खबर कान्तिपुरमा छ ।