रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइयाे

मूलखबर संवाददाता
काठमाडौं, १३ मंसिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथालपुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

उनलाई साँझ ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा काठमाडौंमा मुद्वा दायर भएको तथा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि  बयानका लागि उनलाई काठमाडौं ल्याइएको हो। विमानस्थलमा रवि लामिछानेको पक्षमा नाराबाजी समेत भएको थियो।

सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यलयकाे हिरासतमा राखिएको छ भने शुक्रबार  सरकारी वकिल कार्यालय काठमाडौंमा सम्भवत: बयान लिइने बताइएको छ।

रास्वपाले लामिछानेविरूद्व राजनीतिक पुर्वाग्रह राखेर सरकारले पक्राउ गरेको भन्दै विराेध गरिरहेकाे छ ।