बक्यौता नतिर्ने उद्योगी व्यवसायीकाे घरको लाइन काट्ने प्राधिकरणकाे तयारी

मूलखबर संवाददाता
काठमाडौं

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका उद्योगी तथा सञ्चालकका घरको समेत लाइन काटेर बक्यौता असुल गर्न पाउनुपर्ने भन्दै विद्युत् नियमन आयोगसँग सहमति मागेका छन् ।

डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली लिएर प्रिमियम महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न, सेयर रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई बुधबार पत्र समेत पठाएका छन् ।

बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, सेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई अनुरोध गरिएको उनले प्रस्ट पारे ।

विद्युत् वितरण विनियमावली, ०७८ को विनियम ३१ को उपविनियम १ र उपविनियम ३ अनुसार बक्यौता महसुल असुलउपर गर्ने दायित्वअनुसार प्राधिकरणले बक्यौता महसुल नतिरेका संस्था वा कम्पनीका सञ्चालकका आवासको समेत लाइन काटी बक्यौता असुल गर्नुपर्ने व्यवस्थाबारे पनि आयोगलाई प्रस्ट्याएको छ ।