कल्पनाका तीन कविता

कल्पना न्याैपाने
भक्तपुर

१. यति भए पुग्यो

खाना छैन, नाना छैन भोकानाङ्गा बस्तीभरी
छाना छैन, ठाना छैन भोकानाङ्गा बस्तीभरी
तिनकै आवाज संगालेर दुनियाँ सामु पुर्‍याउदै
तिनैको नाम लेख्न सकौं, यति भए पुग्यो ।।

काम छैन, नाम छैन भोकानाङ्गा बस्तीभरी
न्याय छैन ,कानुन छैन भोकानाङ्गा बस्तीभरी
तिनकै मुद्दा संगालेर इतिहासमा लेखाउदै
तिनकै कर्म लेख्न सकौं, यति भए पुग्यो ।।

तिहुन छैन, भुटुन छैन भोकानाङ्गा बस्तीभरी
न्याय खोज्ने आत्मबल छैन, भोकानाङ्गा बस्तीभरी
तिनको आँत भरिकन फिराद गर्न सिकाउदै
तिनकै मर्म लेख्न सकौं, यति भए पुग्यो ।।

खोज, अनुसन्धान पुगेकै छैन भोकानाङ्गा बस्तीभरी
डलरे बाहेक कोही पुगेनन् भोकानाङ्गा बस्तीभरी
मेरो कलमको खिया पुछ्दै, तिनलाई लेख्न सिकाउदै
तिनकै आवाज लेख्न सकौं यति भए पुग्यो ।।

२.  माया

के हो माया, कस्तो हुन्छ, परिभाषा गर्ने होइन
मन मनमा बुझ्नुपर्छ, एक अर्कामा सर्ने होइन
त्याग हो, समर्पण हो, आफुले कति गर्न सक्छौं
महत्त्वमा हुन्छ माया, फुलबुट्टा भर्ने होइन

मुटुभरि माया भए, बाहाना बाजि गर्ने होइन
चिप्ला कुरा सुनाएर, अन्त डेरा सर्ने होइन
त्याग समर्पण आफू गरौं, पैचो माग्नु हुदैहुन्न
महत्त्वमा हुन्छ माया, फुलबुट्टा भर्ने होइन

मेरो माया, सय भनी, हिसाब किताब गर्ने होइन
दुख कष्ट अप्ठ्यारोमा, एक्लै जंघार तर्ने होइन
आलिङ्गन, राग, द्वेष, प्रवृत्तिलाइ केलाई हेर

महत्त्वमा हुन्छ माया, फुलबुट्टा भर्ने होइन

३. मै हुँ

चर्पी पुच्छ्ने मै हुँ हजुर घर कुर्ने नि मै हुँ
सुचिकार कुचिकार रुचिकार मै हुँ
मास्टर पनि मै हुँ हजुर बच्चा पढाइदिने
तर पनि निरीह र हुतिहारा मै हुँ

घर धन्दा मेलापात धोबि पनि मै हुँ
तिमी धन आर्जन गर्छौ लोबि पनि मै हुँ
सबै कार्य सम्पन्नता सबैलाई हसाइराख्ने
मनको रहर मनमै पाल्ने रोगी पनि मै हुँ

आगन पिढि भान्सा पाहुना सच्चा मित्र मै हुँ
थान्को मान्को हिफाजत कन्जुस पनि मै हुँ
तिम्रो धन सम्पत्तिमा रजाइँ गरि गरि
हर वसन्त पार गर्ने सर्वहारा मै हुँ